कतारका राजालाई सेनाको कमान्डमा विशिष्ट सुरक्षा

काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणको सुरक्षा नेतृत्व नेपाली सेनाले गर्ने भएको छ । विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि, २०७७मा व्यवस्था भए बमोजिम सेनाको नेतृत्वमा कतारका राजालाई अति विशिष्ट स्तर (क श्रेणी) को सुरक्षा प्रदान गर्न लागिएको हो ।

विगतमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत नेपाल भ्रमणका बेला पनि यही तहको सुरक्षा प्रबन्ध मिलाइएको थियो । यसअनुसार विशिष्ट व्यक्तिको क्लोज सेक्युरिटीमा सेनाको पार्श्ववर्ती र अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयबाट टोली खटिनेछ ।

बाहिरी सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग खटिनेछ । कतारका राजा अमिर शेखको सडकमा सवारीका बेला सबैभन्दा अग्रभागमा प्रहरी वार्निङ मोटरसाइकल, प्रहरीको अगुवा जीप, १८ जना आउट राइडर्स, विशिष्ट व्यक्ति, विशिष्ट व्यक्तिको पछुवा कार, फेरि आउट राइडर्स र जगेडा कार समेत रहने छ ।

आपतकालीन अवस्थाका लागि एम्बुलेन्स, प्रहरी जीप, पछुवा कार पनि उनको सवारीका बेला साथमै रहनेछन् । सेनाका स्नाइपरदेखि बम डिस्पोजल टोली पनि तैनाथ रहनेछन् ।

प्रहरीबाट उनको सवारीका बेला उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापा आफैं खटिनेछन् भने सशस्त्र प्रहरी बलले उपत्यका हेर्ने पशुपतिप्रसाद बाहिनीका प्रमुख डीआईजी पुरुषोत्तम थापालाई खटाउँदैछ । सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धान विभागको टोली पनि खटिनेछ ।

यसका अतिरिक्त नेपालस्थित कतारी दूतावासले परराष्ट्र मन्त्रालयसँग समन्वयमा छुट्टै सुरक्षा टोली पनि खटाउनेछ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा नेपाल आउन लागेका विदेशी विशिष्ट पाहुनाको सुरक्षा व्यवस्थापनका लागि सैनिक मुख्यालय जंगीअड्डाको अतिविशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयमार्फत पूर्वतयारी र रिहलसल पनि गरिएको थियो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी दीपक थापाले पहिलो सुरक्षा घेरामा नेपाली सेना र बाहिरी घेरामा नेपाल प्रहरीसहितको अन्य सुरक्षा टोली रहने जानकारी दिए ।

Loading...