धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दासढुंगा प्रकरणबारे सत्यतथ्य किन बाहिर आएन भनेर प्रश्न गरेका छन्।
एमालेले नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा आयोजना गरेको हीरक महोत्सवमा बोल्दै उनले मदन भण्डारीको रहस्यमय दुर्घटनाबारे खोजबिन हुनुपर्ने बताएका हुन्।
दुईपटक राष्ट्रपति हुँदा, पटकपटक प्रधानमन्त्री हुँदा भण्डारीको दुर्घटनाबारे पत्ता लगाउन नसकेको देउवाले बताए।

‘आफू खोज्न नसक्ने, कांग्रेसलाई गाली गर्ने, मदन भण्डारीको हत्यारा को हो? अहिलेसम्म पत्ता लगाउन सकेको छैन। हुँदाहुँदा उनको चालक पनि मारियो! कसले मार्यो पत्ता लागेको छैन! मदन भण्डारी राम्रो नेता हो, यसमा दुई मत छैन। उहाँको हत्याबारे अहिलेसम्म किन पत्ता लागेन? त्यसकारण कांग्रेसको विरोध गर्न सजिलो होला, गर्नुहोस् केही छैन। आफ्नो पनि कुरा भन्नु पर्यो नि!’
तत्कालीन एमालेका महासचिव भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा निधन भएको थियो। उनीसँगै एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको पनि मृत्यु भएको थियो।
भण्डारीको निधनको दस वर्षपछि अर्थात् २०६० साल साउन ११ गते दिउँसो पौने ४ बजे उनका चालक अमर लामाको पनि कीर्तिपुरमा गोली हानेर हत्या गरिएको थियो।