काठमाडौँः कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि मंगलवार नेपाल आउँदैछन्।
परराष्ट्र मन्त्रालयले आइतवार विज्ञप्ति जारी गर्दै उनले मंगलवार र बुधवार नेपालको भ्रमण गर्न लागेको औपचारिक जानकारी दिएको हो। कतारबाट हुन लागेको यो नै अहिलेसम्मको उच्च भ्रमण हो। कतारबाट यस अघि मन्त्रीहरुले भ्रमण गरेपनि अमिर (राजा) वा प्रधानमन्त्रीले नेपालको भ्रमण गरेका थिएनन्।
कतारका अमिर नेपालसहित तीन एसियाली मुलुकको भ्रमणमा आइतवार निस्किसकेका छन्। दोहाबाट फिलिपिन्स उडेका उनी बंगलादेश हुँदै नेपाल आइपुग्नेछन्। परराष्ट्र मन्त्रालयका अनुसार कतारका अमिरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने छन् भने प्रधानमन्त्री पुष्पकमल दाहालसँग बुधवार द्विपक्षीय वार्ता गर्ने छन्।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा नेपाल आउन लागेका थानीले दुई निजी विमान ल्याउनेछन् । त्यसका साथै उनको भ्रमणदलमा कतारका उच्च अधिकारीहरू पनि रहनेछन् ।
थानीले मंगलबारै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भने उनले बुधबार भेटवार्ता गर्ने कार्यक्रम छ । यो भ्रमणका क्रममा केही सम्झौता तथा समझदारी पनि हुने बताइएको छ ।
उनी बुधबार स्वदेश फर्कनेछन् ।