गुल्मीमा एकै दिन आगलागी हुदा, ८३ घरगोठ र ७५ चौपाया जले

९ वैशाख, गुल्मी। शनिबार जिल्लाका १३ ठाउँमा भएको आगलागीबाट ८३ घरगोठ जलेका छन् भने ७५ पशु चौपाया मरेका छन् ।

त्यस्तै एउटा ट्याक्टर, दुईवटा कुटानीपिसानी मिल, दुईवटा किराना पसल, एउटा मन्दिर पनि जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट २ जना मानिस र ७ पशुचौपाया पनि घाइते भएका छन् ।

जिल्लाको इस्मा गाउँपालिका-२ हाडीखोला, वडा नम्बर ४ को कोटकोटरी र मुर्किना, गुल्मीदरबार गाउँपालिका-६ भलायचौर, मुसिकोट नगरपालिका-५ आँपचौर र अर्लाङ्कोटमा शनिबार आगलागी भएको थियो ।

त्यस्तै मालिका गाउँपालिका-१ म्यालचौर, मदाने गाउँपालिका-१ घडेरी, छत्रकोट गाउँपालिका-१ हुँगा, धुर्कोट गाउँपालिका-६ कुरमचाल्ने, वडा नम्बर ४ रातापोखरा र रुरुक्षेत्र गाउँपालिका- १ भटकुवामा पनि शनिबार नै आगलागी भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार इस्माको सिदुङ्खा, कोटकोटरी र हाडीखोलामा आगलागीले बढी क्षति पुर्‍याएको छ ।

आगलागीका कारण गुल्मी गाउँपालिका-२ मा खानेपानीको पाइप पनि जलेको छ । त्यसैले अहिले बस्तीमा पानीको अभाव भएको स्थानीय बासिन्दाले बताएका छन् ।

बस्ती र जंगले आगोले सखाप बनाएपछि हरिया घाँसपात पनि नभएको स्थानीय बासिन्दाले बताएका छन् । इस्मा गाउँपालिका-१ का वडाध्यक्ष शेरबहादुर कुँवरले केही घाँस संकलन गरेर बस्तीमा लगिएको बताए ।

Loading...