रेशमलालले रन्जिता र निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइ आज हुने

वैशाख ९,कैलाली नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले नाउपा अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको मुद्दाको सुनुवाइको लागि आज पेशी तोकिएको छ ।

NAVJEEVAN

मुद्दाको पेशी न्यायाधीशद्वय आनन्दमोह भट्टराई र विनोद शर्माको संयु्क्ति इजलासमा तोकिएको छ। यसअघि चैत्र ३० गते सुनुवाइका लागि पेशी तोकिए पनि सो दिन बहस भएन।आज पनि बहस हुने वा नहुने भन्ने विषय भने अनिश्चित छ ।

गत पुस २७ गते सम्पन्न नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेशनले चौधरीलाई सर्वसहमत रुपमा अध्यक्षमा निर्वाचित गरेको थियो। अधिवेशनपछि उनले अध्यावधिका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए। तर,निर्वाचन आयोगले फागुन २४ गते चौधरीलाई मान्यता नदिने र श्रेष्ठलाई नै कायम गर्ने निर्णय गरेको थियो।त्यसपछि रेशमले श्रेष्ठ र निर्वाचन आयोगलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दिएका थिए।

“अयोग्य व्यक्तिलाई योग्य व्यक्ति सरह मानी अधिकार प्रत्यायोजन गरी महाधिवेशन गरे गराएको भनी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को ५१ बमोजिम आयोगसमक्ष विवरणसहित जानकारी गराएको देखिँदा नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जीता श्रेष्ठलगायत सो पार्टीको केन्द्रीय समितिलाई अब उप्रान्त दलको विधान र प्रचलित कानुन प्रतिकूल कार्य नगर्नु नगराउनु भनी सचेत गराउने,” आयोगको निर्णयमा भनिएको छ ।

नाउपामा आन्तरिक विवाद चुलिएपछि रेशम चौधरीले चैत्र २२ र २३ गते काठमाडौँमा बैठक आह्वान गरेका थिए । अध्यक्ष रन्जिताले उक्त बैठक आधिकारिक नभएको बताएकी थिइन् । रन्जिता श्रेष्ठले अवैधानिक ठहर गरेको बैठकमा नै रेशम चौधरीले नागरिकता लगायतका प्रमाणहरू संकलन गरेर मुद्दा दायर गरेका थिए ।

Loading...