कैलाली : सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी क्षमता भएको चिस्यान केन्द्र ‘कोल्डस्टोर’ ऋणको बोझले बन्द हुने अवस्थामा पुगेको छ।
कैलालीको घोडाघोडी नगरपालिकामा रहेको उक्त चिस्यान केन्द्र बैंकको ऋण तिर्न नसक्दा लिलामी हुने अवस्थामा छ। रिज्म परियोजनाको एक करोड ९० लाख आर्थिक सहयोगमा निर्माण कार्य सुरु गरी सञ्चालनमा ल्याइएको चिस्यान केन्द्र २० करोड बढी लगानीमा तयार गरिएको हो। अहिले आफ्नै ऋणसमेत तिर्न नसक्दा उक्त चिस्यान केन्द्र बन्द हुने अवस्थामा पुगेको छ।
चिस्यान केन्द्रलाई २० करोड बढी ऋण रहेको सञ्चालक समितिका अध्यक्ष रामबहादुर रावतले बताए। ‘बैंकमा मात्रै १६ करोड ४४ लाख ऋण छ। अन्य सहकारी, विद्यालय, सामुदायिक वनलगायतमा गरी २० करोड बढी पुुग्छ’, उसनले भने, ‘सरकारले अनुदान पनि दिएन, अहिलेसम्म किसानकै पैसाबाट चिस्यान केन्द्र चलिरहेको छ।’

रावतका अनुुसार सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा दुई पटकसम्म रातो किताबमा चिस्यान केन्द्रका लागि भन्दै नौ करोड ९० लाख राखेको थियो। चिस्यान केन्द्र सुरु भएकै वर्ष यहाँ तीन हजार चार सय ५३ किसानले आफ्नो उत्पादन राखेका थिए। अहिले छ हजार बढी किसानले उत्पादन गरेका वस्तु राखेका छन्।
कञ्चनपुर,कैलालीसहित डडेल्धुराको पर्शुराम नगरपालिका,गन्यापधुरा गाउँपालिका र रुपन्देहीको शुद्धोदन गाउँपालिकासम्मका किसान यस चिस्यान केन्द्रबाट लाभान्वित छन्। लाभान्वित किसानको सङ्ख्या बढ्दो अवस्थामा रहे पनि आर्थिक सङ्कटका कारण बन्द गर्नुपर्नेसम्मको स्थिति आउँदा उनीहरू चिन्तित छन्। कैलालीको बर्दगोरिया गाउँपालिकाबाट आलुको बीउ भण्डारण गर्न आएका किसान रामु चौधरीले भने, ‘यसपटक वर्षभरि घरमा खानलाई राखेर बेचेको पनि छुु, तर बन्द हुुने अवस्थामा स्टोर छ, हामी किसानले कसरी जीविकोपार्जन गर्ने ?’
चिस्यान केन्द्रमा आलु, अनार, स्याउ, सुन्तला,अङ्गुर र बन्दागोभी राख्न मिल्ने बनाइएको छ। विद्युत् काटिँदा किसानले राखेका उत्पादन बिग्रन सक्ने खतरासमेत हुुने गरेको उनले बताए।विद्युत् प्राधिकरणको बिलसमेत तिर्न नसकेपछि पटकपटक यहाँ विद्युत् काट्ने गरेकोे शेयर सदस्य राजेन्द्र देवकोटाले बताए।