धनगढीः मुख्यमन्त्रीको विषयलाई लिएर अहिले धनगढीमा बिशेष गोप्य बैठक बसेको विषय बाहिर आएको छ। माओवादी, एमाले, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका सांसद गोप्यस्थानमा बैठकमा बसेको स्रोतले बताएको छ।
मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल र एकीकृत समाजवादीका नेता झलनाथ खनालबिच बालुवाटारमा भेट भएको छ। भेटमा प्रधानमन्त्रीले सुदूरपश्चिममा मिलाउने आश्वासन दिएका छन्। मुख्यमन्त्री नदिने भएपछि केन्द्रीय सत्ता गठबन्धनमा रहेको दल एकीकृत समाजवादीले विद्रोह गर्दै सुदूरपश्चिममा कांग्रेस, राप्रपासहित नागरिक उन्मुक्तिका रेशम पक्षधर सांसद लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीमा अगाडी सारेका थिए।
एकीकृत समाजवादीलाइ मुख्यमन्त्री दिएर सो पार्टीलाइ मनाउने प्रयास समेत भइरहेको हो। नेताहरुबिच नयाँ समझदारी भए यसअघि एकीकृत समाजवादीले चालेको कदमबाट पछाडि फर्किने र नयाँ कोर्ष सुरु हुनेछ।
आइतबार दाबी पेस गर्ने समयमा नागरिक उन्मुक्तिकै दुई जना सांसदको दाबी पेस भएकाले प्रदेश प्रमुखले दुबै दाबीलाई रद्द गरेर नयाँ प्रक्रिया सुरु गराउन पहल गर्न सकिने लगायतका विकल्पमा छलफल भइरहेको छ।
लक्ष्मण किशोर चौधरीका समर्थकमा कांग्रेस संसदीय दल, एकीकृत समाजवादी संसदीय दल र राप्रपाले समर्थन गरेका छन्। नागरिक उन्मुक्तिका सातमध्ये पाँच जना सांसद उनको पक्षमा छन्। उनलाई समर्थन गर्ने दल तथा सांसदहरुको संख्या २८ जना पुगेको देखिएको छ।