सुदूरपश्चिमका ९७ वडामा कृषि कामदारको चरम अभाव

३ वैशाख, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कृषि कामदारको चरम अभाव देखिएको एक सरकारी अध्ययनले नै देखाएको छ। राष्ट्रिय कृषि गणनाको आइतबार सार्वजनिक प्रतिवेदनले यस्तो देखाएको हो।

पछिल्लो समय युवाहरूको विदेश पलायन र सहरीकरणले सामुदायिकस्तरमा कृषि कामदारको चरम अभाव देखिएको छ। विवरण संकलन गरिएका वडाहरूमध्ये तीन वर्षमा ४० प्रतिशत वडाहरूमा कृषि कामदारको अभाव भएको छ। सुदूरपश्चिममा ९७ वडामा कृषि कामदारको अभाव हुने गरेको पाइएको हो।

कृषि कामदारको औसत ज्यालामा महिलाको तुलनामा पुरुषलाई बढी रहेको समेत पाइएको छ। प्रतिवेदनअनुसार महिला कामदारलाई पाँच सय ३८ रुपैयाँ दैनिक ज्याला र पुरुषलाई ६ सय रुपैयाँ रहेको छ। साथै सुदूरपश्चिमका तीन सय ४० वडाहरुमा मात्र बाह्रै महिना मोटर चल्ने सडक रहेकोे प्रतिवेदनमा उल्लेख छ।

प्रदेशभित्र धान एक लाख आठ हजार आठ सय, मकै २३ हजार ७३ र गहुँ एक लाख चार हजार पाँच सय ७३ हेक्टर क्षेत्रफलमा गरिँदै आएको छ। त्यस्तै आँप तीन सय, केरा सात सय पाँच, सुन्तला तीन सय ९३, कागती एक सय ८१ र स्याउ एक सय ३९ हेक्टरमा गरिँदै आएको छ।

Loading...