धनगढी, वैशाख २। नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि पद रिक्त छ।
प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको अन्तिम समयसीमा आज सकिँदैछ। प्रदेश सरकार गठनका लागि यहाँ नागरिक उन्मुक्ति पार्टी निर्णायक छ। तर नागरिक उन्मुक्ति समेत दुई भागमा देखा परेपछि सहजै रुपमा नयाँ सरकार बनिहाल्ने यो समाचार तयार पार्दासम्म छाँटकाट देखिदैन्।
यसअघि सुदूरपश्चिम सरकारको नेतृत्व एकीकृत समाजवादीले गर्ने केन्द्रमा गठबन्धनको शीर्ष तहमा सहमति भएको सार्वजनिक भएको थियो। तर, नागरिक उन्मुक्ति पार्टीले पनि नेतृत्व दाबी गरेपछि केन्द्रमा यसबारे औपचारिक निर्णय नभएको नेताहरूले बताएका छन्। यसअघि प्रदेश सरकारमा सहभागिताको विषयमा नागरिक उन्मुक्तिभित्र विवाद चर्किएको थियो। अहिले मुख्यमन्त्री को बन्ने भन्ने विवाद बढेको छ।
नागरिक उन्मुक्तिले नेतृत्व पाए कैलाश मुख्यमन्त्री बन्ने सम्भावना बलियो छ। ६ सदस्यमध्ये सांसद कैलाश चौधरी र टीका थापा अध्यक्षनिकट हुन्। घनश्याम चौधरी, लक्ष्मणकिशोर चौधरी, रामेश्वर चौधरी र खुसीराम डगौरा थारू रेशमनिकट हुन्। शाह नेतृत्वको सरकारमा उनीहरू चारैजना मन्त्री छन्। अध्यक्ष श्रेष्ठ र उनका पति रेशमबिच गठबन्धनलाई समर्थनको विषयमा तीव्र मतभेद छ।
हाल ५२ सदस्यीय रहेको प्रदेश सभामा सरकार गठनका लागि २७ मत आवश्यक पर्छ। गठबन्धनसँग अहिले एमालेका १० र माओवादीका सभामुखसहित ११ तथा एकीकृत समाजवादीका चार गरी २४ मत मात्र छ। कांग्रेसका १८, नागरिक उन्मुक्तिका सात (हाल ६), राप्रपाका एक र एकजना स्वतन्त्र सांसद छन्।