धनगढीमा १५ करोडको खानेपानी योजना १२ वर्षदेखि अलपत्र

धनगढीः कैलालीको धनगढीमा १५ करोड लगानीको खानेपानी योजना १२ वर्षदेखि अलपत्र परेको छ। धनगढी उपमहानगरपालिका–१५ फूलबारीमा खानेपानी आयोजना निर्माणको काम अलपत्र परेको हो। आर्थिक वर्ष २०६८/७९ मा काम सुरु गरिएको फूलबारी डिपोबजार र फूलबारी टाउन खानेपानी योजना १२ वर्षदेखि अलपत्र छ। १५ करोड लगानीको सो आयोजना निर्माण सम्पन्न नहुँदा फूलबारीका १५ हजार स्थानीय खानेपानीबाट सुविधाबाट वञ्चित भएका छन्। खानेपानीका लागि वडा नम्बर १४ र १९ मा खानेपानी टंकी बनेपनि स्थानीयले भने उपभोग गर्न पाएका छैनन्

खानेपानी घरघरमा पुगाउन नसक्ने भए निर्माण गरिएको टंकी सरकारले उखेलेर लैजानुपर्ने फूलबारी टाउनकी मथुरादेवी सिंहले बताइन्। उनले फूलबारीका जनताले रित्तो टंकी हेरेर आर्सनिकयुक्त पानी पिउनु परेको गुनासो गरिन। ‘फूलबारीमा दुबै खानेपानी टंकी संघीय सरकारले निर्माण गरेको हो।

हामीले पनि प्रति परिवार एक हजारका दरले तिरेका छौँ। टंकी निर्माण भएकै ८/९ वर्ष भयो पानी दिन्छौ भन्छन् तर अहिलेसम्म दिएका छैनन्’, उनले भनिन्, ‘पानी दिन नसक्ने भए हामीलाई यी टंकी पनि चाहिएन, सरकारले उखेलेर लैजाओस्।’ धनगढी–१४ को खानेपानी टंकी नजिकै भेटिएका सुर्यप्रसाद काफ्लेले पनि टंकी बनेको धेरै वर्ष भएको तर पानी कहिले आउँछ भन्ने टुङ्गो नभएको गुनासो गरे।

उनले खानेपानीका पाइप समेत खिया लागेको, सडक निर्माण गर्दा टुटेको तर, कसैले त्यो कुराको मतलब नगरेको बताए। यस्तै, फूलबारीका श्यामसुन्दर चौधरीले पनि खानेपानी नहुँदा नल चलाएर पहेँलो र बास्ना आउने पानी पिउनु परेको गुनासो गरे। उनले १२ वर्षसम्म योजना पूरा नहुँदै टंकी समेत चुहिने भएको हुन सक्ने आशंका समेत गरे।
करिब एक करोड ७० लाख लागतमा खानेपानी वितरण गर्न सकिने देखिएकाले बजेटको समेत व्यवस्था भइसकेको साहले बताए। ‘खानेपानी संस्थानको केन्द्रीय कार्यालयको टोली समेत आएर हामीले फूलबारीको खानेपानी योजनाको अनुगमन गरिसकेका छौँ। करिब एक करोड ७० लाख लाग्ने देखिएको छ। बजेटको समेत व्यवस्था भएको छ’, उनले भने, ‘योजना हस्तान्तरण हुनासाथ फूलबारीको हरेक घरमा केही महिना भित्रै खानेपानी पुगाउन सकिन्छ।’ खानेपानी संस्थानले योजनाको अध्ययनपछि स्थानीय उपभोक्ताको घरमा धारा जोड्न एक करोड ७० लाख खर्च हुने स्टिमेट निकालेको छ।

Loading...