१० वर्षमा कारागारभित्र ६२७ कैदीबन्दीले गुमाए ज्यान

२५ चैत, काठमाडौं । असुरक्षा र कालगतीका कारण पछिल्लो १० वर्षको अवधिमा ६२७ कैदीबन्दीले ज्यान गुमाएका छन् । बाँकेको नेपालगञ्ज कारागारमा गत बुधबार बिहान एक कैदीबन्दीको मृत्यु भयो । कारागारका जेलर अर्जुनजंग शाहका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–८ का ६६ वर्षीय अब्दुलवारी जोलाह एक्कासी बिरामी परेपछि भेरी अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

१७ पुसमा जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका जोलाहलाई बाँके जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागारमा राखिएको थियो । उनको मृत्यु हृदयघातका कारण भएको अस्पताल प्रशासनको दाबी छ । कैदीबन्दीहरुले बिरामी हुँदा समयमै उपचार, सुरक्षा लगायतका न्यूनतम सुविधा पनि पाएका छैनन् ।

मृत्युको तथ्यांकले कारागार कार्यालयहरु कैदीबन्दीका लागि सुरक्षित नभएको देखाउँछ । कारागारले न्यूनतम मापदण्ड समेत पालना नगर्दा कैदीबन्दीले समस्या भोगिरहेको, बिरामी हुने र समयमा उपचार नपाउने देखिएको छ ।

मानव अधिकार आयोगको वर्ष पुस्तक २०७९÷८० मा समेटिएको कारागारहरुको अध्ययन रिपोर्टमा कारागार असुरक्षित बन्दै गएको उल्लेख गर्दै लेखेको छ, ‘कैदीबन्दी बिरामी हुँदा समेत उपचारको राम्रो प्रबन्ध भएको देखिएन ।’

४ वर्षको अवधिमा २ कैदीबन्दीका मात्रै होइन पछिल्लो १० वर्षको तथ्यांक केलाउने हो भने हरेक वर्ष ६२ जना भन्दा बढी कैदीबन्दीले ज्यान गुमाउँदै आएका छन् । अर्थात हरेक महिना ५ जना भन्दा बढी कैदी बन्दीको मृत्यु हुने गरेको तथ्यांक छ ।

 

 

Loading...