२५ चैत, पोखरा । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएपछि नेपाली कांग्रेसले सर्वोच्च अदालत जाने तयारी गरेको छ । सभामुख समेतको समर्थनमा मुख्यमन्त्री बन्नु असंवैधानिक भएको भन्दै कांग्रेस गण्डकी सर्वोच्च जाने तयारीमा लागेको हो । नेपाली कांग्रेस गण्डकी, संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले भने, ‘सभामुखलाई समेत गणना गरेर गैरसंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएकाले सर्वोच्चमा रिट हाल्ने तयारी गरेका छौं ।’

केन्द्रमा सत्ता समीकरण बदलिएसँगै नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले फागुन २२ गते माओवादीका २ मन्त्रीलाई बर्खास्त गरेका थिए । त्यसको भोलिपल्ट माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । संविधानअनुसार सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था भए पनि मुख्यमन्त्री पाण्डेले राजीनामा दिएका थिए ।
दुई वा दुईभन्दा धेरै दल मिलेर पनि बहुमत प्राप्त हुने स्थिति नहुँदा संविधानको धारा १६८ (३) बमोजिम ठूलो दलको नेताका हैसियतले मुख्यमन्त्री नियुक्त हुने रणनीतिमा पाण्डे थिए ।