इलाम-२ मा डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं, चैत २२ नेपाली कांग्रेसले इलाम क्षेत्र नम्बर २ मा डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार अपराह्न बसेको संसदीय दल र केन्द्रीय कार्यसम्पादन समिति बैठकले खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। खड्का इलाम कांग्रेस सभापति हुन्।

प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार वैशाख १५ मा इलाम २ मा हुने उपनिर्वाचनका लागि खड्कालाई उम्मेदवार बनाउने निर्णय भएको हो।

चार दिनसम्म छलफल गर्दा पनि सभापति देउवा आफूनिकटका खड्कालाई नै उम्मेदवार बनाउनुपर्नेमा अडिग देखिएका थिए।

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ।

 

Loading...