गुल्मीमा यस वर्ष २४ करोड ५० लाख रुपैयाँ मूल्य बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले जानकारी दिए । गत वर्ष २३ करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको थियो । जिल्लामा उत्पादित सुन्तलामध्ये यस पटक १३ करोडभन्दा बढी सुन्तला जिल्ला बाहिर लगेर बिक्री गरिएको कार्यालय प्रमुख धितालले बताए ।
गुल्मीबाट गत वर्ष १२ करोड रुपैयाँ बराबरको सुन्तला जिल्ला बाहिर बिक्री गरिएको थियो । मल उपलब्ध हुनु तथा सिँचाइको सुविधा, सुन्तलाको बोट काँटछाँट गर्नु र सुन्तलाको क्षेत्र विस्तार हुँदै गएका कारण उत्पादनमा वृद्धि भएको प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना गुल्मीकी प्रमुख गंगा पोख्रेलले बताइन् ।
जिल्लामा कृषकले सुन्तलाको बगैँचामा बिजु बिरुवा लगाउने गरेका छन् । कलमी बोटले भन्दा बिजु बिरुवाले लामो समयसम्म फल दिने भएका कारण यहाँका कृषकले बिजु बिरुवा लगाउँदै आएका छन् । सुन्तलाका फेद र जरा कुहिने समस्याबाट पीडित बनेको धुर्कोट गाउँपालिका–२ का कृषक शिवलाल खनालले बताए । सुन्तला बगैँचामा समयमै मलखाद र सूक्ष्मतत्वको प्रयोगबाट उत्पादनमा वृद्धि हुने उनको भनाइ छ ।
जिल्लाका १२ वटै पालिकामा व्यावसायिक रूपमा सुन्तलाखेती गरिँदै आएको छ । जिल्लाका ९३ वडामध्ये ३७ वडामा सुन्तला जात फलफूल जोन कार्यक्रम लागू छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जिल्लाको मदाने गाउँपालिकाको पुर्कोटदह, धुर्कोट गाउँपालिकाको पिपलधारा र सत्यवतीको लिम्घालगायत ठाउँमा चक्लाबन्दी गरी सुन्तला खेती सुरु गरिएको छ ।