सुदूरपश्चिम प्रदेश ‘बजेट होलिडे’ (सरकारले खर्च गर्न नपाउने) अवस्थामा पुगेको छ । नेकपा एमाले प्रदेश सरकारबाट बाहिरिएपछि आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेट पारित हुन नसक्दा प्रदेश ‘बजेट होलिडे’मा गएको हो ।
संवैधानिक व्यवस्थाअनुसार १ असारमा ल्याइएको बजेट असार मसान्तभित्र पारित गरिसक्नुपर्छ । तर एमालेले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेश सभामा बजेट माथिको छलफलसमेत अघि बढ्न सकेन ।
त्यही कारण सरकारले ल्याएको बजेट तोकिएको समयमा प्रदेश सभाबाट पारित हुन पाएन र प्रदेश ‘बजेट होलिडे’मा गयो । यो अवस्थामा सरकारले केही आकस्मिक बाहेक खर्च गर्न पाउँदैन ।
संघमा कांग्रेस र एमालेको गठबन्धन बनेपछि २० असारमा एमाले सुदूरपश्चिम सरकारबाट बाहिरिएको थियो । जबकि सोडारी नेतृत्वको सरकारमा आर्थिक मामिलामन्त्री रहेका एमालेका सुरेन्द्रबहादुर पालले यो आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड २८ लाख बराबरको बजेट ल्याएका थिए ।
एमालेले मुख्यमन्त्रीका कारण ‘प्रदेश होलिडे’ मा गएकाले उनले राजीनामा दिनुपर्ने माग गरेको छ ।