सेयर बजार २६ महिनाकै उच्चतम अंकमा

आइतबार सेयर बजार करिब २६ महिनाकै उच्चतम अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५२.९७ अंक बढेर २२५७ मा कायम भएको छ ।

बजार बन्द हुँदाको यो अंक ४ जेठ २०७९ यताकै उच्चतम हो । बुलको चरणबाट बजार घट्दै गर्दा सो दिन नेप्से परिसूचक २२७५ अंकमा थियो । आज कारोबार भइरहँदा (इन्ट्राडे)मा भने नेप्से परिसूचक २८ वैशाख २०७९ यताकै उच्च अंकमा पुगेको थियो ।   सेयर बजार खुलेको २ मिनेटमै नेप्से परिसूचक ८६ अंक बढेर २२९० पुगे पनि सर्किट ब्रेक लाग्न पाएन ।

आइतबार कारोबार रकम पनि उच्च भएको छ । अघिल्लो दिन ७ अर्ब ८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६२ करोड पुग्यो ।

२०१ कम्पनीको मूल्य बढ्दा ३६ को घटेको छ भने ५ को स्थिर रहेको छ । यस दिन पनि बैंकिङ समूहले नै नेप्सेलाई उचालेको छ । सो समूह सबैभन्दा धेरै ३.७४ प्रतिशत बढ्यो ।

विकास बैंक १.२०, फाइनान्स १.३३, होटल तथा पर्यटन १.०७, हाइड्रोपावर ३.३०, लगानी १.३०, जीवन बीमा २.०५, उत्पादन २.६६, माइक्रोफाइनान्स ०.८२, निर्जीवन बीमा १.२६, अन्य १.९९ तथा व्यापार समूह २.२१ प्रतिशत बढे ।

रिडी पावर, माण्डु हाइड्रोपावर, जानाकी फाइनान्स तथा हिमाल दोलखा हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । अरुणभ्याली हाइड्रोपावरको ९.३, नेसनल हाइड्रोपावरको ८.८ प्रतिशत मूल्य बढ्यो ।

बलेफी हाइड्रोपावरको ५.१ तथा सप्तकोशी विकास बैंकको २.६ प्रतिशत मूल्य घट्यो । कारोबार रमका आधारमा जानाकी फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, ग्लोबल आईएमई बैंक संस्थापक, नेपाल फाइनान्स र हिमालयन रिइन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।

NAVJEEVAN
Loading...