१० महिनामा कमाए ५३ अर्ब बढी नाफा बैंक तथा वित्तीय संस्थाले

चालू आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाको नाफा ५३ अर्ब रुपैयाँमाथि पुगेको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आवको वैशाखसम्म (क), (ख) र (ग) वर्गका बैंक तथा वित्तीय संस्थाहरूले कुल ५३ अर्ब १९ करोड रुपैयाँ नाफा कमाएका हुन्।

यसमा (क) वर्गका वाणिज्य बैंकले यो अवधिमा ४८ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएका छन्। त्यस्तै विकास बैंकले ४ अर्ब १७ करोड र फाइनान्स कम्पनीहरूले ४१ करोड रुपैयाँ नाफा कमाएका छन्।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूमा सबैभन्दा धेरै नाफा गर्नेमा नबिल बैंक पहिलो नम्बरमा छ भने नेपाल बैंक नाफाका आधारमा पुछारमा छ।

चालू आवको १० महिनामा नबिल बैंकले ५ अर्ब ४६ करोड रुपैयाँ नाफा गरेर अग्रस्थानमा आउँदा सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेड ५९ करोड रुपैयाँसहित अन्तिम स्थानमा छ।

यस्तै नाफा कमाउनेमा ४ अर्ब १२ करोड रुपैयाँसहित ग्लोबल आईएमई बैंक दोस्रो नम्बरमा छ भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ३ अर्ब ७७ करोड रुपैयाँसहित तेस्रो नम्बरमा छ।

समग्रमा चालू १० महिनामा सर्वाधिक कमाउनेमा वाणिज्य बैंकतर्फ ५ अर्ब ४६ करोड रुपैयाँसहित नबिल बैंक, विकास बैंकतर्फ झण्डै एक अर्ब रुपैयाँसहित मुक्तिनाथ विकास बैंक र फाइनान्सतर्फ २० करोड रुपैयाँसहित मन्जुश्री फाइनान्स कम्पनी अगाडि छन्।

Loading...