११ जनाको नक्कली नागरिकता रद्द

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ११ जनाको नक्कली नागरिकता रद्द गरेको छ।

कर्मचारीको मिलेमतोमा विभिन्न मितिमा जारी ११ जनाको नक्कली नागरिकता रद्द गरेको कार्यालयले जनाएको छ।

तत्कालीन समयमा कार्यालयमा अधिकृतद्वय झपेन्द्रराज खरेल र अधिकृत भूपेन्द्र पाण्डेय तथा नायब सुब्बा रामचन्द्र अर्याल भएका बेला जारी गरिएका ११ थान नागरिकता रद्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले जानकारी दिए। उनका अनुसार रद्द गरिएका सबै नागरिकता एउटै वर्ष जारी भएको पाइएको हो।

कार्यालयका अनुसार राजु गुरुङ पक्राउ परी धरौटीमा रिहा भएका छन्। निजले कर्मचारीलाई रु पाँच लाख बुझाएर नागरिकता र राहदानी लिएको बयान दिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। खरेल नक्कली नागरिकता प्रदान गरेको आरोपमा पक्राउ परी पुर्पक्षका लागि कारगार चलान भई उच्च अदालतबाट धरौटीमा छाड्ने आदेश पाए पनि धरौटी रकम राख्न नसक्दा बन्दी अवस्थामै रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए।

सहायक प्रजिअ पौडेलका अनुसार जारी भएका सबै नागरिकताको कागजात कार्यालयमा छैन। उनले तिनै कर्मचारीबाट अन्यलाई पनि नक्कली नागरिकता प्रदान गरेको अध्ययनबाट देखिएकाले थप अनुसन्धान भइरहेको जानकारी दिए। विशेष गरी विसं २०७३ र २०७४ मा वितरण गरिएका नागरिकतामा समस्या देखिएको उनको भनाइ छ। रासस

Loading...