रविमाथि संसदीय छानबिन गर्न नेताहरु तयार

बालुवाटारमा एमालेसँग चर्काचर्कीपछि कांग्रेस पदाधिकारीहरुले सोमबार दिउँसो सभापति शेरबहादुरलाई ब्रिफिङ गर्दै थिए–अब एमालेका कारण संसदीय छानबिन समिति नबन्ने भयो ।

गृहमन्त्री रवि लामिछानेको नामलाई लिएर सोमबार साँझसम्म पनि एमाले आफ्नो अडानमै छ भन्ने कांग्रेस कार्यदल सदस्य र पदाधिकारीहरुले बुझेका थिए । एमालेका केही नेताले त जुनसुकै मूल्य चुकाउँदा पनि समिति नबन्ने ठोकुवा नै गरेका थिए ।

गिरीबन्धु टिइस्टेटको जग्गा अपचलनमा अदालतको फैसलासँगै आफ्ना अध्यक्ष केपी ओलीलाई जोडेर कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बोलेकामा एमाले आक्रोशित थियो । टुंगोमा पुग्न लागेको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति निर्माणको प्रयास अलपत्र बन्ने सम्भावना देखेपछि प्रधानमन्त्री आफैं सक्रिय बनेका थिए ।

बूढानीलकण्ठमा कांग्रस पदाधिकारी बसिरहेकै बेला देउवालाई प्रधानमन्त्री प्रचण्डको टेलिफोन गयो, ‘तपाईंहरुले गोर्खा मिडियाको नाम टिओआरमा लेखिसकेपछि त्यहाँ व्यक्तिको नाम लेखिनै पर्छ भनेर अडान नराखिदिनुहोस् । बाँकी म एमालेसँग कुरा गर्छु ।’

कांग्रेस उच्च नेताका अनुसार सोमबार बिहान कड्किँदै बैठकमा प्रस्तुत एमाले उपाध्यक्ष विष्णु पौडेल साँझको बैठकमा गएनन्, तर दुई एमाले नेताहरु पदम गिरी र महेश बर्तौलाको प्रस्तुति शान्त थियो । बैठक सकिएपछि एमालेका बर्तौलाले तेस्रो दलको कुरा निकालेर कांग्रेस र एमालेबीच दुरी बढाउन नहुने प्रस्ताव गरेका थिए ।

एमाले अडान छाडेर संवाद गर्ने लाइनमा आयो भन्ने कांग्रेसले बुझ्यो । त्यसपछि उनीहरुले टीओआरको भाषालाई स्पष्टता दिन पुनः कोसिस गरे । अन्ततः त्यसैको वरिपरि सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन समिति गठन हुने निर्णय मंगलबार भयो ।

एक एमाले नेताका अनुसार आजको टिओआरमा लेखिएको भाषामा समितिमा बस्ने सदस्यहरुले कसरी बुझ्छन् भन्ने चाहिँ अन्योलमै रहनेछ । कार्यविधिको भाषामा स्पष्टता नहुनु नै यसको विशेषता रहेको उनले व्यंग्यात्मक प्रतिक्रिया दिए ।

Loading...