कैलालीको खैरालामा जापान सरकारको दुई करोड सहयोगमा फाया नेपालले निर्माण गरेको स्वास्थ्य चौकी भवन हस्तान्तरण

धनगढी । भौगोलिक रूपमा अत्यन्तै विकट कैलालीको चुरे गाउँपालिका-२ मा फाया नेपाल नामक गैर सरकारी संस्थाले निर्माण गरेको स्वास्थ्य चौकी भवन हस्तान्तरण गरिएको छ ।

फाया नेपालले जापानको परराष्ट्र मन्त्रालय र आम्दा माइन्ड्सको आर्थिक तथा प्राविधिक सहयोगमा मातृ तथा बाल स्वास्थ व्यवहार प्रवर्द्वन परियोजना अन्तरगत खैराला स्वास्थ्य चौकी भवन निर्माण गरेको थियोे ।
झण्डै दुई करोड अर्थात् एक करोेड ९९ लाख ३५ हजारको लागतमा निर्माण गरिएको भवन फाया नेपालका अध्यक्ष लोकराज भट्ट र आम्दा माइन्ड्सकी नेपाल प्रमुख माइको कोवाइसी (उप्रेती) ले संयुक्त रूपमा चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीलाई हस्तान्तरण गरेका हुन् ।

स्वास्थ चौकी भवन हस्तान्तरण गरे लगत्तै सोमबार नै विधिवत् रूपले उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष बोगटीले उद्घाटन गर्दै स्वास्थ चौकी भवन निर्माण सहयोग गरेकोमा दातृ निकायलाई धन्यवाद दिए ।
उनले भवन अभावमा विगतमा सेवा प्रवाहमा समस्या भइरहेको उल्लेख गर्दै अब भने सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गरेका छन् ।

फाया नेपालका कार्यकारी निर्देशक शेरबहादुर बस्नेतले तीन वर्ष अघि स्थलगत अनुगमनका क्रममा स्वास्थ चौकीले जीर्ण भइसकेको भवनमा महिला तथा बालबालिकाको उपचार गर्नुपर्ने अवस्था रहेको जानकारीमा आएको बताए ।
सोही बेला नै भवन निर्माणको अवधारणा आएको बताउदै जापानको परराष्ट्र मन्त्रालय र आम्दा माइन्ड्सको सहयोगका कारण ९ महिनामै भवन निर्माण सम्भाव भएको बताए ।

NAVJEEVAN

यस्तै, फाया नेपालका अध्यक्ष लोकराज भट्टले स्वास्थ चौकी भवन निर्माणका क्रममा सहयोग गर्ने सम्बद्व पक्षलाई धन्यवाद दिए । भट्टले स्वास्थ चौकी र गाउँपालिका कार्यालयले सदुपयोग गरेर सहज रूपमा सेवा प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

 

भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा बोल्दै आम्दा माइन्ड्सकी नेपाल प्रमुख माइको कोवाइसीले दुई वर्ष अघि चुरेको गार्भा दरबार क्षेत्रमा पैदल यात्रा गरेर पुग्दा स्वास्थ सेवामा यहाँका महिला र बालबालिकाले भोग्नुपरेको अभावबारे जान्न अवसर मिलेको बताइन् ।

अन्य ठाउँ भन्दा खैराला स्वास्थ चौकीको अवस्था निकै दयनीय रहेको थाहा पाएपछि जापान सरकारको सहयोगमा भवन निर्माण गरि हस्तान्तरण गर्न पाउँदा खुसि व्यक्त गरिन् । उक्त भवनले महिला तथा बालिबालिकालाई स्वास्थ सेवा प्रवाहमा सहज हुने विश्वास उनको थियो ।

कार्यक्रममा उनले जापानी राजदुत युताका किकुताले जापान सरकार र जापानी जनताकातर्फबाट भन्दै सन्देश समेत सुनाएकी थिईन् । भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रम चुरे गाउँपालिका(२ का वडाध्यक्ष केशवबहादुर साउदको अध्यक्षतामा सञ्चालन भएको थियो ।

जापान सरकारले आम्दा माइन्ड्ससँगको सहकार्यमा फाया नेपालमार्फत स्वास्थ चौकि भवन निर्माण गरेको थियो । भवन निर्माणसँगै फाया नेपालले सोही परियोजना अन्तरगत नै ७ लाख बराबरको स्वास्थ सामाग्री तथा फर्निचर पनि हस्तान्तरण गरिएको जनाएको छ ।

Loading...