धनगढीमा हुने रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा

कैलालीको धनगढीमा यही जेठ १६ गतेदेखि हुने नेपालकै पहिलो १७ वर्ष मुनिको रात्रिकालीन क्रिकेट प्रतियोगिता सुदूरपश्चिम सुपर लिगको तेस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ।

 

साहारा नेपाल युवा क्लबको आयोजनामा हुने रात्रीकालीन क्रिकेट प्रतियोगिता धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको जनता राष्ट्रिय विद्यालयको खेलमैदानमा हुन लागेको हो।

 

जेठ १६ देखि जेठ २५ गतेसम्म उक्त प्रतियोगिता चल्ने प्रतियोगितामा १० वटा टिमहरूको सहभागिता रहने र प्रतियोगिता टि-२० फरमेटको प्रणालीबाट खेलाइने आयोजक टिमका संस्थापक सदस्य मनोज भट्टले बताउनु भयो।

 

प्रतियोगिताको मिति नजिकिएसँगै अहिले तीव्र गतिमा प्रतियोगिताको तयारी चलिरहेको छ।खेलमैदान सफाई देखि पिच बनाउने काम सबै अन्तिम चरणमा पुगेको प्रतियोगिताका संयोजक महेन्द्र सिंह धामीले बताउनु भएको छ।

 

त्यस्तै साहारा नेपालका अध्यक्ष अनन्त बोहराले समाजलाई खेलकुदको माध्यमबाट सकारात्मक बाटोमा डोर्याउन सकिने विश्वास रहेको र स्थानीय स्तरमा रहेका युवा खेलाडीलाई उत्पादन गर्दै उनीहरूलाई राष्ट्रिय टिममा जोड्ने अभियानमा लागिरहेको बताउनु भएको छ।अध्यक्ष बोहराले निकट भविष्यमा सुदूरपश्चिम सुपर लिगलाई नेपालकै सबैभन्दा ठूलो प्रतियोगिता बनाउने उद्देश्य समेत रहेको पनि बताउनु भयो।

 

साहारा नेपाल युवा क्लबको आयोजनामा हुने १७ वर्ष मुनिको रात्रीकालीन क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम सुपर लिग विजेताले ५० हजार नगद र उपबिजेताले ३० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

 

 

 

Loading...