नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताहरूलाई लगाएको आरोप पुष्टि गर्न चुनौती
काठमाडौं : नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताहरूलाई लगाएको आरोप पुष्टि गर्न चुनौती दिएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सहमहामन्त्री बद्री पाण्डेले उपसभापति र महामन्त्रीमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिए । साथै अरुमाथि लाञ्छना लगाएर सहकारीको रकम अपचलनमा लामिछानेले उन्मुक्ति नपाउने समेत बताएको छ ।
आरोप प्रमाणित गर्न नसके आउँदा दिनमा त्यसको परिणाम पनि गृहमन्त्रीले नै भोग्नुपर्ने कांग्रेसले चेतावनी दिएको छ।

‘तपाईंले जुन गम्भीर लाञ्छना गर्नुभएको छ, यदि त्यो भोलिका दिनमा प्रमाणित गर्न सक्नु भएन भने भोलिका दिनमा के हुन्छ, ब्यहोर्नुपर्ला,’ उनले भने।
उनले भने, ‘गृहमन्त्रीले हाम्रो पार्टी उपसभापति र महामन्त्रीमाथि जुन किसिमको लाञ्छना लगाउनुभयो म चुनौती दिन चाहन्छु, गृहमन्त्री र सरकारलाई कस्तो टीओआर बनाउनुपर्ने हो बनाउनुस् । हाम्रो उपसभापति र महामन्त्रीको नाम किटेरै टिओआर लेख्नुपर्ने हो कि कांग्रेसकै नाम लेख्नुपर्ने परेपनि लेख्नुस् । छानबिनको समय पनि तोक्नुस् र छानबिनको निचोड हाम्रो उपसभापति र महामन्त्री दोषी हुनुभयो भने कांग्रेसका कोकोलाई कारबाही गर्न सक्नुहुन्छ ।’
उनले गृहमन्त्रीले देशको सूचना बेच्ने एजेण्ट भनेको व्यक्ति देखाउन पनि चुनौती दिए । पाण्डेले भने, ‘उहाँले देशको सूचना बेच्ने एजेण्ट यही सदनमा छ भन्नुभयो माननीय त्यो देखाउननुस् हामी गलहत्याउन तयार छौं, होइन तपाईं निराधार आरोप लगाउँदै हुनुहुन्छ भने तपाईंलाई गलहत्याउने काममा चुक्ने छैनौं ।’