सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले ‘आमा बचाउ’ अभियान सञ्चालनमा

सिन्धुपाल्चोक : सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाले सञ्चालनमा ल्याएकोे ‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित भएका छन् । अभियानअन्तर्गत सुरुमा गाउँपालिकाका हरेक वडाबाट महिला स्वयंसेविकामार्फत महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिइने स्वास्थ्य शाखा प्रमुख चन्द्रनारायण साहले राससलाई बताउनुभयो । गाउँपालिकामा शिविर सञ्चालन गरी आङ खस्ने समस्या भएकाको शल्यक्रिया गर्न बिरामी छनोट गरी काठमाडौँका विभिन्न अस्पतालसँग सहकार्य गरी निःशुल्क उपचारको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

आर्थिक स्थिति कमजोर भएका महिलालाई विशेष प्राथमिकता राख्दै गत वर्ष आङ खस्ने समस्या भएका २१ जनाको शल्यक्रिया गरिएको थियो । यसपटक १४ जनाको शल्यक्रिया गरिसकेको र चारजनाको प्रक्रियामा रहेको स्वास्थ्य शाखा प्रमुख साहले बताउनुभयो ।

अर्थाभावका कारण उपचार गर्न नसकी कुनै पनि आमाले अकालमा ज्यान नपरोस् भन्ने उद्देश्यले ‘आमा बचाउ’ अभियान सञ्चालन गरिएको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले जानकारी दिनुभयो ।

Loading...