नापी कार्यालय धनगढी सेवाग्राहीबाट घुस माग्ने अड्डा बन्दै गएको छ । नापी कार्यालय धनगढीमा कार्यरत कर्मचारीहरूले सेवाग्राहीबाट हाकाहाकी घुस वाफतको रकम असुल्न थालेका हुन् ।
कर्मचारीलाई घुस नदिएसम्म सेवा पाउनै मुस्किल हुने गरेको सेवाग्राहीको गुनासो दिन प्रति दिन बढिरहेको छ । यतिसम्म कि नापी कार्यालय धनगढीबाट सेवा लिँदा जनप्रतिनिधिसँग समेत खुलेआम घुस मागेको तथ्य बाहिर आएको छ । गौरीगङ्गा नगरपालिका–४ का वडा सदस्यसँग नापी कार्यालय धनगढीका सर्वेक्षकले २ लाख रुपैयाँ घुस मागेको तथ्य बाहिर आएको छ ।

आफ्नो नाममा रहेको जग्गाको लगतकट्टा गर्न र चार कित्तामा अंशबण्डा भएको १६ कट्टा जग्गाको लालपुर्जा लिन भाइहरूसँगै वडा सदस्य सापकोटा नापी कार्यालय पुगेका हुन्। तर, नापी कार्यालय धनगढीका सर्वेक्षकले सडकको लगतकट्टा गरे बापत घुस मागेको वडा सदस्य सापकोटाको दाबी छ।
घुस दिन नमान्दा सापकोटाको जग्गाको लगतकट्टा गर्न नापी कार्यालयले १५ दिन लगाएको हो । नापी कार्यालयमा भने हाकिमका नजिक रहेका कर्मचारीहरूले आफैं घुसका लागि बार्गेनिङ गर्ने गरेको केही घटना सार्वजनिक भएका छन् ।
धनगढीमा बढी भिडभाड हुने कार्यालयमा खुलेआम कर्मचारीले घुस माग्ने गरेका छन् । मालपोत तथा नापी कार्यालयमा लेखापढी गर्ने र जग्गा कारोबारीले सेवाग्राहीबाट रकम उठाउन विचौलियाको काम गर्ने सेवाग्राहीहरुको गुनासो रहेको छ।