७ जनाको कुटाइबाट प्रहरी जवानको मूत्यु

प्रहरी वृत्त दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

खोटाङको मझुवागढी घर भएका ३२ वर्षीय घिमिरेको शुक्रबार राति हत्या भएको थियो । टोखा नगरपालिका–१० गोंगबु गणेशस्थान बस्ने घिमिरेको शव तारकेश्वर नगरपालिका–९ मनमैजु बासुकी नाग टोलस्थित जोनस भनिने दामोदर खत्रीको निर्माणाधीन घरको नजिक भेटिएको थियो ।

निर्माणाधीन दुई तले घरमा हत्या गरी घर बाहिर फालिएको अवस्थामा शुक्रबार राति शव भेटिएको थियो । कालो म्याट्रेसले छोपिएको अवस्थामा शव भेटिएको थियो भने घिमिरेको अनुहारभरि चोट थियो । ट्राफिक प्रहरीको पोशाक र बुट जलाइएको अवस्थामा भेटिएको थियो ।

पक्राउ परेका सबैजसो लागु औषध प्रयोगकर्ता रहेको प्रहरीको भनाइ छ । उनीहरु बालाजु, जरंखु, मनमैजु लगायतका क्षेत्रहरुमा सडकपेटी तथा निर्माणाधीन घरहरुमा बस्ने गरेका थिए ।

पक्राउ परेकाहरुको विगत पनि विभिन्न सार्वजनिक अपराध तथा चोरी लुटपाटहरुमा संलग्न रहेको देखिएको प्रहरीले जनाएको छ । अहिले ट्राफिक जवान हत्या गरिएको घरमा उनीहरु करिब १५ दिन अघिदेखि बस्न थालेको पाइएको छ ।

लागुऔषध प्रयोगकर्ता, चोरी, लुटपाट, कुटपिट तथा सार्वजनिक अपराधको कसुरमा संलग्न भएकाहरुको विवरण केलाउने क्रममा उनीहरुलाई पक्राउ गरिएको परिसरका एसएसपी वसन्त रजौरेले बताए ।

हत्या गरेपछि यो समूहले ट्राफिक प्रहरीको साथमा रहेको २ हजार रुपैयाँ समेत लुटेर लगेको देखिएको छ ।

 

Loading...