दाङ तुलसीपुरमा सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढिरहेको

तुलसीपुर : दाङ तुलसीपुरमा  पछिल्लो समयमा सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढिरहेको छ । निजी विद्यालय छाडेर पनि सामुदायिक विद्यालयमा भर्ना हुन आउनेको सङ्ख्या बढिरहेको छ ।

दाङको राप्ती गाउँपालिकास्थित सर्वोदय मावि सिसहनियामा यस वर्षमा २००, जनज्योति आधारभूत विद्यालयमा ४६ जना, नेपाल राष्ट्रिय माविमा ८० जना र आदर्श नमूना माविमा प्रत्येक कक्षामा ५० जना थप नयाँ विद्यार्थी थपिएका छन् । तीमध्ये अधिकांश निजी विद्यालयबाट आएका साे- विद्यालयका प्रधानाध्यापकहरुले बताउनुभयो ।

विद्यालयमा नर्सरी–१ र नर्सरी–२ पनि सञ्चालन गरिएकाले र अङ्ग्रेजी माध्यममा पठन–पाठन हुन थालेपछि यसरी विद्यार्थीको सङ्ख्या बढिरहेको प्रधानाध्यापकहरुले  बताउनुभयो ।

सामुदायिक विद्यालयले उचित व्यवस्थापन गरेपछि विद्यार्थीको सङ्ख्या बढ्ने उहाँहरुको भनाइ छ । राप्ती गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी, सरकारी विद्यालयका शिक्षकका सन्तान सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने निर्णय गरेको छ । सोहीअनुसार पालिका अध्यक्ष प्रकाश विष्ट, शिक्षा शाखा प्रमुख विश्वास विक लगायतले आफ्ना सन्तालानलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुभएको छ ।

सामुदायिक विद्यालयको अवस्था सुधार गर्न स–साना कुरामा ध्यान दिनसके निजीभन्दा राम्रो हुने पालिका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो । उहाँले राप्तीका सामुदायिक विद्यालय सुधार अभियानलाई अगाडि बढाएको समेत बताउनुभयो । “हामी सबै लाग्यौँ भने सामुदायिक विद्यालयको शिक्षा सुधार हुनसक्छ”, उहाँले भन्नुभयो, “त्यसैले यस वर्षदेखि सामुदायिक विद्यालय सुधार अभियानमा लागेका छौँ ।”

Loading...