विराटनगरको आईसीपी रोडमा भारत लैजाँदै गरेको २५० किलो गाँजासहित एक युवक पक्राउ

विराटनगर । प्रहरीले भारत लैजाँदै गरेको २५० किलो गाँजासहित एक जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१७ आईसीपी रोडबाट मंगलबार राति साढे ११ बजेतिर काँचो केरा लोड गरिएको प्रदेश १–०२–०२ च ६३३१ नम्बरको पिकअप भ्यानबाट गाँजा बरामद भएको हो । भ्यानको ढालामा गाँजालाई माथिबाट केराले छोपिएको थियो ।

बोरामा प्याक गरेर पिकअपको पछाडि ढालामा राखिएको अवस्थामा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, एसपी नवराज कार्कीले जानकारी दिए । नेपाल-भारत सीमा क्षेत्र नजिकै केरा र गाँजा अनलोड गर्दै गरेको जानकारी पाएपछि  प्रहरी पुगेको थियो ।

प्रहरीले पिकअपलाई नियन्त्रणमा लिएर चालक धनकुटाको शहीदभूमि गाउँपालिका–३ का १८ वर्षीय दिवस राईलाई पक्राउ गरेको छ । राईलाई जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान अघि बढाएको छ । चालक राईविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

Loading...