काठमाडौं महानगरपालिकाले सञ्चालन टुँडिखेलमा चलिरहको सीप मेलाका लागि मात्रै ४३ हजार ५८ जनाले आवेदन दिएको महानगरले जनाएको छ ।
२०८१ जनालाई तालिम दिने र तालिम दिएकालाई रोजगार दिने लक्ष्यसहित वैशाख १९ गतेदेखि सुरु भएको मेलामा निशुल्क तालिम लिन ईच्छुकका लागि महानगरले आवेदन आह्वान गरेको थियो । टुँडिखेलमा चलिरहेको सीप मेलामा विभिन्न १० क्षेत्रका ३० वटा विधामा सीप तालिम दिइरहेको छ ।
महानगर गौरव योजनाअन्तर्गत चालु आर्थिक वर्षमा १५ हजार जनलाई निःशुल्क तालिम दिने र तालिम लिएकामध्ये ५ हजार जनलाई रोजगार वा स्वरोजगारमा आवद्ध गराउने लक्ष्य रहेको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए । उनले तालिमका लागि अनलाइन फर्मबाट आवेदन लिइरहेको सुनाए ।
‘यस्ता आवेदकहरुलाई नाम थर, मोवाइल नम्बर, नागरिकता नम्बर, ठेगाना जस्ता सूचकका आधारमा एकजनालाई एउटै मात्र तालिमका लागि छान्छौँ’, आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झालेले भने ।