दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित मावि सिक्टाका प्रधानाध्यापक विष्णु खत्रीलाई वडा सदस्य प्रमोद बस्नेतले कुटपिट गरेका छन् ।
राजपुर गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य प्रमोद बस्नेतले मावि सिक्टाका प्रधानाध्यापक विष्णु खत्री र वडाध्यक्ष पुष्कर वली सोमबार वडा कार्यालयमा शिक्षा सम्बन्धी विषयमा छलफल गरिरहेका बेला एक्कासि आफूमाथि कुटपिट गरेको प्रधानाध्यापक विष्णु खत्रीले बताए ।
प्रधानाध्यापक खत्रीले भने, ‘विद्यालयको विषयमा वडाध्यक्षसँग छलफल भइरहेको थियो । वडा सदस्य प्रमोद बस्नेत वडा कार्यालयमा प्रवेश गर्नुभयो । लगत्तै स्कुलमा नाम लेखाउने विषयमा किन शुल्क पठाएको प्रश्न गर्नुभयो । ‘त्यसपछि मैले गाउँपालिका चार वटा शिक्षक पठाउने निर्णय भएता पनि नपठाएको र विद्यार्थीबाट शुल्क नउठाएर विद्यालय कसरी सञ्चालन गर्ने भन्ने बित्तिकै वडा सदस्य बस्नेतले राहतको शिक्षक भएर प्रधानाध्यापक बन्ने अनि ठूला कुरा गर्ने भन्ने बित्तिकै म माथि कुटपिट भयो ।’
उनले आँखा, टाउको र हातमा चोट लागेको जानकारी दिँदै उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेको बताए ।
‘गाउँपालिकाले निःशुल्क शिक्षा लागू गरेको छ तर उहाँले विद्यार्थीसँग किन शुल्क उठाउने ? मेरो प्रश्न यहाँ निर हो ।’ उनले भने । उनले वडाध्यक्ष र प्रधानाध्यापक मिलेर गलत काम गरेकाले आफूले खबरदारी गरेको बताए ।