पाल्पाको माथागढी गाउँपालिका वडा नं. ४ झडेवाकी रिता बराललाई यतिबेला काफल टिप्न र बिक्री गर्न भ्याइनभ्याई छ।
आफ्नै बारीका कान्लामै काफलका प्रशस्त बोट उम्रिएकाले उनलाई काफल टिप्न जंगल जानु पनि पर्दैन। केही वर्ष पहिले उम्रिएका बोटलाई हुर्काएकी रिताले चारपाँच वर्षदेखि नियमित आम्दानी लिन थालेकी हुन्।
‘बारीका कान्ला र डिलमा १०/१२ वटा काफलका बोट छन्, तिनै बोटमा फलेका काफल टिपेर बिक्री गर्छु,’ उनले भनिन्। गत वर्ष ३० हजारभन्दा बढीको काफल बिक्री गरेकी उनले यस वर्ष ५० हजार बढीको काफल बिक्री गर्न सकिन्छ कि भन्ने आश लिएकी छन्।
फागुनको अन्तिम साताबाट टिप्न सुरू गरेको काफलबाट अहिलेसम्म ४० हजारसम्म आम्दानी गरेको उनले बताइन्। ‘एक दिन बिराएर चार पाँच पाथी काफल टिपेर बिक्री गर्न सकिन्छ,’ रिताले भनिन्।
‘चैत नलाग्दैबाट काफल टिपेर बेच्न थालेको हो, अझै १०/१२ दिन बिक्री गर्न सकिन्छ,’ देवीसराले भनिन्।
‘एकदिनमा १०/१२ माना काफल टिपेर बिक्री गर्छु, त्यही पैसाले छोराछोरीलाई कपी किताब र स्कुलको ड्रेस किनिदिएँ, घरमा चाहिने नुन तेल किन्न पनि सजिलो भएको छ,’ उनले भने।
उनीहरूले टिपेको काफल गाउँमै व्यापार गर्नेहरूले खरिद गरेर बजार पठाउने गरेका छन्।
माथागढी ४ देउगिरमा पसल सञ्चालन गर्दै आएका बालकृष्ण न्यौपाने आफैले मात्र दुई महिनामा २५ लाखभन्दा बढिको काफल खरिद गरेर बुटवल पठाएको बताए।
‘फागुनको २२ गतेबाट काफल खरिद गरेर बुटवल पठाउन सुरु गरेको थिएँ, बैशाख २९ गतेसम्म २५ लाखको काफल बुटवल पुर्याएछु,’ उनले भने।
गाउँका किसानबाट खरिद गरेको काफल बुटवल, मुर्गिया, देवदहसम्म पुर्याउने गरेको बालकृष्णले बताए।
वडा अध्यक्ष दर्लामीले किसानले बढी आम्दानी लिन सकून् भनेर काफलका बोटको संरक्षण गर्न सिकाउने गरेको बताए।
गर्मीयाममा फल्ने काफल स्वास्थ्यका लागि पनि राम्रो मानिने भएकोले काफल पाइने वडालाई पकेट क्षेत्र बनाएर उत्पादन बढाउने गाउँपालिकाबाटै योजना बनाइएको वडा अध्यक्ष दर्लामीको भनाइ छ।