चितवन : चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको छ । सपना भिलेज सोसल इम्प्याक्टले स्थानीय सरकारसंग सहकार्य गरी जिल्लाका अतिविपन्न ५२ परिवारलाई सुरक्षित घर निर्माण गरेको हो ।
‘विपन्नलाई सपनाको घर’ कार्यक्रमअन्तर्गत घर बनाउनै नसक्ने आर्थिक अवस्था कमजोर भएका परिवारको पहिचान गरी सुरक्षित आवास निर्माण गरिएको सपना भिलेजका अध्यक्ष धु्रव गिरीले बताउनुभयो । उहाँका अनुसार रत्ननगर, खैरहनी र राप्तीमा घर निर्माण गरिएको हो । रत्ननगर–७ राउत टोलमा चार घर निर्माण गरी आइतबार चार परिवारलाई हस्तान्तरण गरिएको अध्यक्ष गिरीले बताउनुभयो ।
वडा कार्यालय र सपना भिलेजको संयुक्त लगानीमा घर निर्माण गरिएको हो । झुप्रोमा बस्दै आएका सुदमिया राउत, केसिया महतो, इतोरिया महतो र सुष्मा राउतलाई घर हस्तान्तरण गरिएको हो । वडाध्यक्ष सजना महतो र सपना भिलेजका अध्यक्ष गिरीले चार जनालाई घरको चाबी हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा वडाध्यक्ष महतोले आर्थिक अभावका कारण घर बनाउन सक्ने अवस्थामा नरहेका समुदायलाई सपना भिलेजसँग सहकार्य गरी सुरक्षित आवास निर्माण गरिएको बताउनुभयो । प्रतिघर निर्माण गर्न रु सात लाख ५० हजार खर्च भएको सपना भिलेजका कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिनुभयो । भिलेजले प्रतिघर रु सात लाख र वडा कार्यालयले प्रतिघर रु ५० हजार लगानी गरेका छन् । सपना भिलेजका अध्यक्ष गिरीका अनुसार २०६९ सालदेखि विपन्नका लागि आवास निर्माण थालिएको हो । सीमान्तकृत मुसहर समुदायका लागि २१ घर पुनःनिर्माणसहित जिल्लाका विभिन्न पालिकाका अतिविपन्न परिवारको पहिचान गरी सुरक्षित आवास निर्माण गरिएको उहाँको भनाइ छ ।
सपना भिलेजले अहिले इच्छाकामना गाउँपालिका–१ का चेपाङ समुदायका लागि काम गरिरहेको छ । चेपाङ समुदायका लागि जीविकोपार्जनको आधार तयार गर्न, विद्यालय खाजा कार्यक्रम, विद्यालय भवन निर्माण, चेपाङ समुदायकै सहभागितामा कफी खेती, तरकारी खेतीलगायत काम भइरहेको छ । इच्छाकामना–१ स्थित राष्ट्रिय आधारभूत विद्यालय भाराङ्मा आवाससहितको पक्की भवन निर्माण भइरहेको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।
जिल्लाका समथर भूभागमा बसोबास गर्ने अतिविपन्न समुदायलाई आवास निर्माण, विरामीलाई उपचार, गरिबका बालबालिकालाई शिक्षाको लागि सहयोग गर्दै आएको सपना भिलेजले विकटका चेपाङ समुदायको जीवनस्तर उकास्न आयआर्जनमुलक कार्यक्रम सञ्चालन गरिरहेको छ । हामी चेपाङ समुदायमा परिर्वतन ल्याउन कस्एिका छौं उहाँले भन्नुभयो चेपाङ समुदायलाई आफ्ना लागि आफैले गर्नु पर्छ भन्ने भावनाको विकाससमेत गराउदै छौं ।