दाङको घोराहीमा बञ्चरो प्रहार गरी दुई महिलाको हत्या

दाङको घोराहीमा शनिबार दिउँसो बञ्चरो प्रहार गरी दुई महिलाको हत्या भयो। घोराही उपमहानगरपालिका-१० पहेलपारमा ५० वर्षीया जुतली बुढा र ४४ वर्षीया संगिता सुनारको हत्या भएको थियो।उनीहरूमाथि रोल्पाका ५८ वर्षीय टेकबहादुर घर्तीले बञ्चरो प्रहार गरेका थिए।

टेकबहादुरलाई शनिबार नै पक्राउ गरी प्रहरीले घटनाबारे अनुसन्धान अगाडि बढाएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनकबहादुर मल्लका अनुसार टेकबहादुरले जुतलीको हत्या गरेपछि पोल खुल्ने र आफू समातिने डरले सोही कोठामा रहेकी संगितामाथि पनि बञ्चरो प्रहार गरेका थिए।

हत्या भएको कोठा संगिताको र घर जुतलीको हो। जुतली आफ्नो घर भाडामा लगाएर घोराहीमा डेरा गरी बस्थिन्। उनी प्रत्येक महिना भाडा उठाउन पहेलपारस्थित सो घरमा पुग्थिन्। जुतली प्रायः टेकबहादुरकै अटो चढेर घोराहीबाट पहेलपार पुग्थिन्। उनका श्रीमान वैदेशिक रोजगारीमा छन्।

प्रहरीका अनुसार टेकबहादुर रोल्पा थवाङका हुन् । उनी केही वर्षयता घोराहीको चौघेरास्थित छोरीको घरमा बसेर अटो चलाउँदै आएका थिए। सोही क्रममा टेकबहादुर र जुतलीबीच २ वर्ष अघिदेखि चिनजान रहेको डिएसपी मल्लले जानकारी दिए।

शनिबार पनि भाडा उठाउन उनी पहेलपार पुगेका थिए। त्यहाँ पुगेर संगीताको कोठामा बसेका थिए। संगीताको कोठामा पुगेपछि संगीताका श्रीमानलाई रक्सी किन्न पठाएका थिए। डिएसपी मल्लका अनुसार त्यसपछि कोठामै टेकबहादुर र जुतलीबीच विवाद भएको अनुसन्धानबाट खुलेको छ।

विवादकै क्रममा टेकबहादुरले नजिकै रहेको बञ्चरो उठाएर जुतलीमाथि प्रहार गरेका थिए। कोठामै रहेकी संगिता चिच्याउलिन् र आफू समातिउँला भन्ने डरले उनीमाथि पनि टेकबहादुरले सोही बञ्चरो प्रहार गरेको खुलेको डिएसपी मल्लले जानकारी दिए।

बञ्चरो प्रहारबाट दुवै जना ढलेपछि टेकबहादुर उक्त कोठाबाट बाहिरिएका थिए। बाहिरिएलगत्तै घटनाबारे टेकबहादुरले छोरीलाई जानकारी गराएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। टेकबहादुर बाहिरिएको केही बेरमा मात्रै संगीताका श्रीमान कोठामा पुगेका थिए। कोठाभित्र जाँदा आफ्नी श्रीमती र घरबेटीको हत्या भएको देखेपछि उनले छिमेकी गुहारेका थिए।

त्यसपछि मात्रै प्रहरीलाई खबर गरिएको थियो। डिएसपी मल्लका अनुसार टेकबहादुर अटोमा भाग्दै गरेको अवस्थामा घोराहीकै सौंडीकुलाबाट पक्राउ गरिएको हो।

उनले प्रहरीसामु पनि आफूले हत्या गरेको स्वीकारेका छन्। सोधपुछका क्रममा आफ्नो खिल्ली उडाएको कारण जुतलीमाथि आक्रमण गरेको बताएका छन्। उनले लामो समयदेखि आफ्नो अटोमा चढेको तर भाडा नदिएको तर अटोचालक भनेर आफूलाई होच्याएर बोलेकाले हत्या गरेको भनेको डिएसपी मल्लले बताए।

प्रहरीले  टेकबहादुर जुतलीबीच विवाहेत्तर सम्बन्ध रहेको अनुमान गरी अनुसन्धान अगाडि बढाएको छ।

थप अनुसन्धान भइरहेकाले तत्कालै हत्याको यकिन कारण नखुलेको डिएसपी मल्लले बताए।

Loading...