२२४ निर्माण कम्पनी कालोसूचीमा

धनगढी। चालू आर्थिक वर्षको पछिल्लो ९ महिनामा मात्रै २२४ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सरकारले विकास निर्माणको ठेक्का लिएर खरिद सम्झौताबमोजिम समयमा निर्माण कार्य सम्पन्न नगरेका तथा अन्य विभिन्न कारणले पछिल्लो ९ महिनामा २२४ निर्माण कम्पनी कालोसूचीमा परेको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

निर्माण कम्पनीहरुले सम्झौताबमोजिम काम सम्पन्न नगरेपछि सार्वजनिक निकायले कालोसूचीमा राख्न गरेको सिफारिसका आधारमा कार्यालयले तथ्यमा आधारित भएर कालोसूचीमा राख्ने गरेको कार्यालयका प्रवक्ता विष्णुप्रसाद शर्माले बताए ।

कालोसूचीमा नपर्न व्यवसायीहरु आफैं सचेत हुनुपर्ने उनको भनाइ छ । ‘कम्पनीले लिएको ठेक्का सम्झौताअनुसार समयमै निर्माण कार्य सम्पन्न गर्नुपर्छ । गुणस्तरमा सम्झौता गर्नुभएन । कम्पनीले ठेक्का परेपछि स्वीकार गर्नुपर्छ । ठेक्का सम्झौतामा वास्तविक कागजपत्र पेश गरेर व्यवसायीहरु सचेत भए कालोसूचीमा पर्ने समस्या कम हुन्छ’, उनले भने ।

एउटै निर्माण कम्पनी दुईतीन पटकसम्म कालोसूचीमा परेको छ । कालोसूचीमा परेको कम्पनीले विगतमा लिएका ठेक्कामा कुनै असर पर्दैन । कालोसूचीमा परे पनि काम गर्न पाउँछ । कालोसूचीमा परेपछि त्यस्तो कम्पनीले नयाँ टेण्डर प्रक्रियामा भाग लिन पाउँदैन । कोभिडपछिका विभिन्न समस्या तथा अन्य समस्याको कारण निर्माण कम्पनीहरु कालोसूचीमा पर्ने क्रम बढ्दो छ ।

Loading...