सभामुखले चाहे रविले संसदमा बोल्न पाउनु हुन्छ: कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेले चाहेका खण्डमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा बोल्न पाउने बताएको छ।

गृहमन्त्रीसमेत रहेका लामिछानेले गत वैशाख २४ गते ‘संसदमा बोल्न अनुमति पाउँ’ भन्दै सभामुखलाई पत्र पठाएका थिए।

कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री लामिछाने जोडिएकोले संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागलाई निरन्तरता दिने निर्णय पनि गरेको छ।

शुक्रबार बसेको संसदीय दल बैठकले संसदीय छानबिन समिति गठनको माग गर्ने पुन: निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

संसदको बर्खे अधिवेशन शुक्रबारदेखि सुरू हुँदैछ। प्रतिनिधि सभा बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ। यो बैठकमा शीर्ष नेताहरूलाई बोल्न दिने तयारी छ।

सभामुख घिमिरेले चाहेमा रास्वपा सभापति लामिछानेलाई रोस्टम प्रयोग गर्न दिने पक्षमा कांग्रेस छ।

Loading...