कोशी प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएसँगै सत्ता गठबन्धनका प्रमुख घटक नेकपा एमाले र माओवादी केन्द्रले तयारी थालेका छन् । एमाले र माओवादी दलले (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेश गर्ने तयारी गरेका हुन् । बिहान १० बजेसम्ममा बहुमत सदस्यसहित दाबी पेश गरिने एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।
प्रदेश प्रमुख पर्शुराम खापुङ्गले २ दिनको समय सीमा दिएर हिजो अबेर राति संविधानको धारा १६८ (५) अन्तर्गत नयाँ सरकार गठनको आव्हान गरेका थिए । दाबी पेश भएपछि बहुमत परीक्षणका लागि दिउँसो सबै सांसदको सनाखत गराउने प्रदेश प्रमुखको कार्यालयले तयारी गरेको छ ।

एमाले र माओवादी केन्द्रले सबै सांसदलाई बिहान ११ बजेसम्ममा संसद सचिवालयमा परिचय खुल्ने कागजसहित उपस्थित हुन निर्देशन दिइसकेको छ । हिक्मतको पक्षमा बहुमत पुग्ने निश्चित छ । आजै दिउँसो उनलाई शपथ गराउने गरीको तयारी भइरहेको एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।
कोशीका मुख्यमन्त्री केदार कार्कीलाई वैशाख २५ गतेसम्म विश्वासको मत लिन संकल्प प्रस्तावमार्फत् प्रदेशसभाले समय सीमा दिएको थियो । उक्त प्रस्तावको पक्षमा ५२ जना सांसद उभिएका थिए । तर, विश्वासको मत नलिने र राजीनामा पनि नदिने अडानमा कार्की रहेपछि एमाले माओवादीले नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखसमक्ष माग गरेका थिए ।
एमालेले सर्वोच्चको सोही व्याख्यालाई टेकेर मुख्यमन्त्री केदार कार्कीले बहुमत सदस्यको विश्वास गुमाई सकेकोले कोशी प्रदेश सभाका बहुमत सदस्यहरू एमालेका प्रदेश सभा संसदीय दलका नेता हिक्मत कुमार कार्कीलाई अर्को वैकल्पिक सरकारको नेतृत्व गर्न कोशी प्रदेश सरकार मुख्यमन्त्री पदमा नियुक्तिका लागि आवश्यक प्रकृया अगाडि बढाउन प्रदेश प्रमुख समक्ष अनुरोध गरिएको हो।