बैतडी,डडेल्धुरा : आइतबार बैतडीमा जिल्लाको दोगडाकेदार–२ कफलकोटका ३४ बर्षीय महेश महराले ३२ बर्षीया श्रीमती वसन्ती महरामाथि चक्कु प्रहार गरेका हुन्। घरको आगनमा गहुँ चुट्ने क्रममा वसन्तीमाथि महेशले चक्कु प्रहार गरेको प्रहरी निरीक्षक नन्दराज जोशीले बताए। चक्कु प्रहारबाट वसन्तीको कम्मरमा चोट लागेको छ। श्रीमतीमाथि चक्कु प्रहार गर्ने महेशलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

मंगलबार डडेल्धुरा जिल्लामा श्रीमानले बन्चरो प्रहार गर्दा गम्भीर घाइते महिलाको उपचारका क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको छ। ३८ वर्षीया डम्बरीदेवी देउवा श्रीमानले बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएकी थिइन्। त्यसपछि प्रहरीले उनका श्रीमान आलिताल गाउँपालिका–२ मटेलाका ४२ वर्षीय कर्णबहादुर देउवालाई पक्राउ गरेको थियो।
घाइते डम्बरीको स्वास्थ्य चौकी गाङ्खेत हुँदै मायामेट्रो अस्पताल धनगढीमा थप उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो। आफ्नै श्रीमानबाट पीडित बन्ने र कतिपय महिलाले अकालमै ज्यान गुमाउनु परेका घटना यसैगरी वर्षेनि दोहोरिने गरेका छन्।
श्रीमानको कुटपिटबाट कतिपय महिला अहिले पनि घाइते अवस्थामा छन भने कतिपय महिलाले अकालमै ज्यान गुमाइसकेका छन्। घरायसी सामान्य विवादमा पनि श्रीमानले धारिलो हतियार नै प्रहार गर्ने गरेका घटना बारम्बार सार्वजनिक हुने गरेका छन्। कतिपय महिलाले अहिले पनि श्रीमानको बेइज्जती हुने डरले कुटपिटका घटना लुकाएर बस्ने गरेको समेत पाइएको छ।