सभामुखले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरुको बैठक बोलाएका छन् । सभामुखले आज बिहान साढे ११ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ ।

सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बैठकमा बोलाइएको उनको सचिवालयले जनाएको छ ।
यही वैशाख २८ गतेदेखि सुरु हुने बर्खे अधिवेशन सहज रुपमा सन्चालनको वातावरण बनाउने प्रयासमा शीर्ष नेताहरुलाई बैठकमा बोलाइएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

सहकारी प्रकरणमा रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो । कांग्रेसको अवरोधले सदनको कारवाही प्रभावित भएपछि सभामुखले शीर्ष बैठक बोलाएका हुन् ।

सभामुखले सदनको अवरोध खुलाउन गएको अधिवेशनमा पनि दुई पटक शीर्ष बैठक आहवान गरेका थिए तर, सहमति हुन सकेको थिएन । सहकारी प्रकरणबारे सदनमा उठेका विषयलाई सहमतिमा टुंग्याउन सभामुखले प्रमुख सचेतक, सचेतक र कार्यव्यवस्था समितिमा अलग–अलग छलफल गरेका थिए ।

नेपाली कांग्रेसले रवि लामिछानेलाई बाहिर राख्ने गरी छानबिन समिति बन्न नसक्ने बताएको छ । संसदको बर्खे अधिवेशन आगामी २८ गतेदेखि सुरु हुँदैछ ।

Loading...