अमेरिका र वेस्टइन्डिज टी–२० विश्वकपमा आतङ्कवादी हमलाको खतरा,

काठमाडौं । आसन्न आईसीसी टी-२० विश्वकपको आयोजकमध्येको एक ट्रिनिडाड एन्ड टोबागोका प्रधानमन्त्री कैथ रोलीले प्रतियोगितामा आतङ्कवादी हमलाको ‘थ्रेट’ पाएको बताएका छन् ।

NAVJEEVAN

वेस्ट इन्डिजमा रहेका सेक्युरिटी एजेन्सीले सम्भावित हमलाको निगरानी गरिरहेको रोलीको भनाइ छ । उक्त वक्तव्यपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र क्रिकेट वेस्ट इन्डिजले प्रतियोगितालाई सुरक्षित बनाउन आयोजक सुरक्षा योजना तयारी अवस्थामा रहेको उल्लेख गरेका छन् ।

ट्रिनिडाड डेलीसँग कुरा गर्दै त्यहाँका प्रधानमन्त्री रोलीले भने, ‘२१ औँ शताब्दीमा आतङ्कवादको खतरा विभिन्न रुपमा देखिएका छन्, जो दुर्भाग्यपूर्ण छ । टी–२० विश्वकपमाथि पनि आतङ्कवादी हमलाको चेतावनी आएको छ ।’ यद्यपि उनले त्यस्तो चेतावनी कहाँबाट आएको हो भन्नेबारे केही खुलाएनन् ।

‘आयोजक राष्ट्रमा सम्बन्धित निकायसँग नजिक रहेर हामी काम गर्नेछौं । प्रतियोगितालाई जोखिममा पार्न सक्ने कुनै पनि गतिविधि हुन नदिन अपनाइएका योजनाहरुलाई हामी सूक्ष्म निगरानी गर्नेछौं’, संयुक्त विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा हरेकको सुरक्षा पहिलो प्राथमिकता भएको उल्लेख छ । जुन १ तारिखबाट सुरु हुने विश्वकप अमेरिका र वेस्ट इन्डिजमा सञ्चालन हुँदैछ । अमेरिकाका ३ र वेस्ट इन्डिजका ६ वटा रंगशालामा खेलहरु हुनेछन् । बार्बाडोसले प्रतियोगिताको फाइनल आयोजना गर्दैछ ।

नेपालले समूहगत चरणका दुई खेल अमेरिका र दुई खेल वेस्ट इन्डिजमा खेल्नेछ ।

Loading...