अज्ञात समूहले पेस्तोल देखाएर जनकपुरमा ८० लाख लुटपाट

जनकपुर : हतियार देखाएर एक समूहले जनकपुरधाममा सोमबार ८० लाख रुपैयाँ लुटपाट गरेका छन्। श्रीशुभ बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी वीरेन्द्र महतोले बैंकबाट झिकेको ८० लाख रुपैयाँ अज्ञात समूहले पेस्तोल देखाएर लुटेका हुन्।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ स्थित थुमौनामा महतोको साथबाट रकम लुटपाट भएको प्रहरीले जनाएको छ। महतोले झोलामा उक्त रकम राखेका थिए।

धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ स्थित रघुनाथपुरमा रकम लुटपाट भएको सूचना आएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका एक प्रहरी निरीक्षकका अनुसार महतो जनकपुरस्थित हिमालयन बैंकबाट रकम झिकेर रघुनाथपुर फर्किंदै थिए।सोही क्रममा तीन जनाको समूहमा रहेको अज्ञात समूहले ८० लाख रुपैयाँसहित झोला लुटेर फरार भएको सूचना आएको प्रहरीको भनाइ छ। धनुषा प्रहरीका प्रवक्ता डिएसपी रञ्जन अवाले यस घटनाबारे थप अनुसन्धान भइरहेको बताए।

Loading...