चोरले निलेयाे एक तोला सुन,एक्स–रे गर्दा पेटमा देखिए धातु

पाँचथर : पाँचथर जिल्लाको फिदिम नगरपालिका– २ पल्लोटार एस गोलाइमा एक तोला सुन चोरेर निलेका सुरेन्द्र कुमार योङया जेल चलान भएका छन् । लुटपाट गर्न गएका ती चोरले सुन निलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गएको चैत २८ गते फिदिम– २ स्थित विस्णुकुमारी तामाङको घरमा लुटपाट गर्न गएका सुरेन भनिने २८ वर्षीय सुरेन्द्र कुमार योङयाले एक तोला सुन निलेका हुन् । तामाङको घरमा दिउँसो ३ बजे दराज खोलेर लुटपाट गर्दै गर्दा घरधनीले देखेर प्रहरीलाई खबर गरेका थिए ।

NAVJEEVAN

परिवारका सदस्यले योङ्याले सुनका गरगहना भएको स्टिलको दराजबाट सामग्री निकाल्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । तत्कालै पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । यस क्रममा योङ्याको साथबाट रु १५ हजार नगद बरामद गरिएको थियो । तामाङका गरगहनामध्ये एक तोलाको सुन फेला परेन ।

चोरी गर्न गएका योङ्याले उक्त सुन निलेको आशङ्कापछि जिल्ला अस्पताल फिदिममा एक्स–रे गरिएको थियो । एक्स–रे गर्दा योङ्याको पेटमा धातु देखिएको थियो । “निलेको करिब ३६ घण्टापछि दिसाबाट उक्त सुन निकालिएको थियो”, सूचना अधिकारी कुशवाहाले भन्नुभयो । सुन पेटमै देखिएपछि उनलाई निगारानीमा राखियो । उक्त सुन प्रहरीले फिदिमकै सुनचाँदी पसलमा परीक्षण गराएको थियो ।

गत चैत २८ गते भएको उक्त घटनापछि चोरीसम्बन्धी सबै अनुसन्धान पूरा गरी जिल्ला प्रहरी कार्यालय पाँचथरले योङ्याविरुद्ध जिल्ला अदालत पाँचथरमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले गत वैशाख २३ गते प्रतिवादी योङ्यालाई रु एक लाख ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर धरौटी रकम जम्मा गर्न नसपछि उनलाई पुर्पक्षका लागि जिल्ला कारागार पाँचथरमा थुनामा पठाइएको सूचना अधिकारी कुशवाहाले बताउनुभयो ।

Loading...