बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ११ हजार भन्दा बढी पुग्यो

काठमाण्डौ : लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोगको सङ्क्रमणबाट बागमती प्रदेशमा हालसम्म बिरामीको सङ्ख्या ११ हजार भन्दा बढी डेङ्गु सङ्क्रमित फेला परेका छन् । चालु आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि हालसम्म बागमती प्रदेशमा ११ हजार चार सय नौ जना नयाँ डेङ्गु सङ्क्रमित फेला परेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यसमध्ये सबैभन्दा बढी धादिङमा ३ हजार ५ सय १ र सबैभन्दा कम रसुवामा २ जना नयाँ डेङ्गु सङ्क्रमित भएको स्वास्थ्य निर्देशानलयका स्रोत व्यक्ति उत्तमप्रसाद प्याकुरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस अवधिमा काठमाडौँमा ३ हजार, चितवनमा १ हजार ७ सय ८, मकवानपुरमा ८ सय ५७, भक्तपुरमा ४ सय ९४, काभ्रेपलाञ्चोकमा १ सय ६७, नुवाकोटमा ८१, दोलखामा ७९, रामेछापमा २७, सिन्धुपालञ्चोकमा ३२ र सिन्धुलीमा २३ जना नयाँ डेङ्गु सङ्क्रमित फेला परेका छन् ।

डेङ्गु सङ्क्रमणबाट हालसम्म मकवानपुरमा एक जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

गर्मी मौसम सुरु भएसँगै डेङ्गु सङ्क्रमित अझै बढ्न सक्ने भएकाले जनचेतनामूलक सन्देश प्रवाहसँगै प्रदेशभर लामखुट्टे लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गर्न लागिएको प्रदेश स्वास्थ्य निर्देशक दिपकप्रसाद तिवारीले बताउनुभयो ।

Loading...