राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने भएको छ।
मुख्यमन्त्री अधिकारीले आइतबार अपराह्न ३ बजे प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।
नेकपा (एमाले) गण्डकी संसदीय दल नेतासमेत रहेका अधिकारी गत चैत २५ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए।
गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र दिपक मनाङे गरी ६० जना सदस्य छन्।
दुई सांसद रहेको राप्रपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भएको हो।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले गण्डकीमा पार्टीका सांसदहरू तटस्थ बस्ने बताए।
‘गण्डकीमा हाम्रा सांसदहरू तटस्थ बस्नुहुन्छ,’ उनले भने, ‘मुख्यमन्त्रीले राख्ने विश्वास मत प्रस्तावको पक्ष वा विपक्षमा नरही तटस्थ बस्ने कुरा भएको छ,’ उनले भने।