सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन हतार नगर्न नेताहरूलाई ओलीको निर्देशन।

धनगढ़ी  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिन हतार नगर्न आफ्ना नेताहरूलाई निर्देशन दिएका छन्।

शनिबार राति अबेर सुदूरपश्चिम एमाले संसदीय दल नेता राजेन्द्र रावलसहितका नेताहरूसँगको भेटमा एमाले अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन्।

पछिल्लो समय सत्ता गठबन्धन दलहरू नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच तिक्तता बढीरहेको पृष्ठभूमिमा सुदूरपश्चिमको राजनीतिक घटनाक्रमबारे छलफल गर्न एमाले सुदूपश्चिमका नेताहरू काठमाडौं आएका थिए।

अध्यक्ष ओलीको निवास बालकोटमा दुई घन्टाभन्दा बढी भएको छलफलमा विश्वासको मत लिन अझै समय भएको बताएका नेता रावलले जानकारी दिए।

‘विश्वासको मत लिनका लागि हामीसँग जेठ ५ गतेसम्मको समय छ।

‘सरकार सञ्चालनको आधार तयार गर्नुपर्‍यो। न्यूनतम साझा कार्यक्रम हुनुपर्‍यो। त्यो केही तय नगरी हतारिएर विश्वासको मत लिनुपर्दैन,’ उनले भने, ‘फेरि अर्कोतिर खुट्टा हालिरहेको पनि देखिन्छ। त्यसकारण हामी विश्वासको मत दिन हतारिने पक्षमा छैनौं। आजै मुख्यमन्त्री काठमाडौं आइराख्नुभएको छ भन्ने पनि सुनेका छौं। उहाँसँग पनि बुझ्नुस्।’

शनिबार मुख्यमन्त्री दीर्घ सोडारीलाई एमालेले विश्वासको मत नदिने भनेपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित भएको थियो। बैठक स्थगित गरेर नेताहरू काठमाडौं आएका थिए।

मुख्यमन्त्रीले एक महिना भित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार सोडारीले जेठ ५ गतेसम्म विश्वासको मत लिनुपर्छ।

Loading...