जापानका परराष्ट्रमन्त्री कामिकावा योको आज नेपाल आउँदै

काठमाडौँ : जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज नेपाल आउँदै हुनुहुन्छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा आउन लाग्नुभएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । आफ्ना नेपाली समकक्षी श्रेष्ठसँग उहाँले द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । जापानको परराष्ट्रमन्त्री नियुक्त भएपछि उहाँको यो पहिलो नेपाल भ्रमण हो ।

जापान नेपालको समृद्धिका लागि निरन्तर सहयोग गर्ने मुलुकको सूचीमा अग्रस्थानमा छ ।

नेपाल र जापानबीचको सम्बन्ध सरकारी तहमा मात्र नभई जनस्तरमा पनि सुमधुर छ । हाल जापानमा एक लाख ६३ हजार नेपाली नागरिक अध्ययन, रोजगारी र व्यापार–व्यवसायको सिलसिलामा रहेका बताइएको छ । दुई देशबीचको सांस्कृतिक, सामाजिक, धार्मिक र जनस्तरको सम्बन्ध भने एक सय २५ वर्ष पुरानो हो ।

जापानले  नेपालको शिक्षा, स्वास्थ्य, सञ्चार, कृषि, पूर्वाधार, ऊर्जा, नागरिक उड्डयनलगायत क्षेत्रमा सहयोग गर्दै आएको छ । सिन्धुली–बर्दिवास सडकदेखि नागढुङगा–सिस्नेखोला सुरुङमार्गमा पनि जापानले सहयोग गरेको छ । जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी भन्नुहुन्छ, “नेपालको कुनै त्यस्तो क्षेत्र छैन, जहाँ जापानी सहयोगले नछोएको होस् । नेपालको आर्थिक–समाजिक विकासमा केन्द्रित भएर जापानले सहयोग गरिरहेको छ ।” जापानी नागरिक नेपाल आएर यहाँको धर्म, संस्कृति, कला, सङ्गीत र प्रकृतिको अध्ययन गरिरहेको छन् भने केही नेपाली पनि जापानका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण ओहोदामा रहेर काम गरिरहेका छन् ।

जापान नेपालको समृद्धिका लागि निरन्तर सहयोग गर्ने मुलुकको सूचीमा अग्रस्थानमा छ ।

दुई देशबीचको सम्बन्ध विस्तारमा जापानमा रहेको नेपाली समाजले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका राजदूत सुवेदी बताउनुहुन्छ । जापानका परराष्ट्रमन्त्रीको यो भ्रमणले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ तुल्याउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

Loading...