विश्वासको मत लिदै आज सुदूरपश्चिम मुख्यमन्त्री दिर्घ सोडारी

सुदूरपश्चिम मुख्यमन्त्री दीर्घबहादुर साेडारीले विश्वासको मत लिने तयारी गरेका छन्।

शुक्रबार अपराह्न ५ बजे प्रदेश सभा बैठक बस्दैछ। प्रदेश सभा सचिवालयले तेस्रो अधिवेशनकाे दशाैं बैठक बस्ने भन्दै सूचना निकालेको छ।

विश्वासको मतका लागि सत्ता  गठबन्धन दलभित्र छलफल र समझदारी नबनेकोले प्रदेश सभा बैठक बस्ने सम्भावना भने कम छ। साेडारीकै पार्टी एकीकृत समाजवादी संसदीय दलका उपनेता प्रकाश रावलले मुख्यमन्त्रीले विश्वासको मत लिने विषयमा नेकपा (एमाले) काे निर्णय पर्खेकाे बताए।

उनले विश्वासको मत दिने विषयमा एमालेभित्र निर्णय नभएको भन्ने सुनिएकाे बताउँदै उसैको पर्खाइमा मुख्यमन्त्री रहेकाे बताए।

एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सल्लाह नै नगरी साेडारीले विश्वासको मत लिन खाेजेकाे बताए।

`बैठक सार्नुहुन्छ हाेला, उहाँले हतार गर्नुभयाे। बझाङमा जितेका हाम्रो पार्टीका सांसद अहिले पितृशाेकमै हुनुहुन्छ, हामी आन्तरिक छलफल र परामर्शमै छाैं, ३ गतेसम्म समय छ,’ उनले भने।

बजेट निर्माणलगायतबारे छलफल गरेर सुधारका निम्ती सहमति जरूरी रहेको उनले बताए। केन्द्रीय गठबन्धनमा सहमति बनेपछि मात्रै विश्वासको मत दिन एमाले तयार हुने उनले बताए।

नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले पनि एमालेको निर्णय आइनसकेको बताए।

`बिहीबार दिउँसो १ बजेकाे बैठक बस्दा सहमति भए पनि अपराह्न ४ बजेपछि मत नदिने भन्ने मनस्थितिमा हुनुहुन्छ, यसबारे उहाँहरूसँग नै बुझ्नु हाेला,´ उनले भने।

सरकारलाई समर्थन गरेको अर्को दल नागरिक उन्मुक्ति पार्टीभित्र साेडारीलाई विश्वासको मत नदिन संरक्षक रेशम चाैधरी पक्ष संसदीय दलले ह्वीप जारी गरेकाे छ।

अर्को तर्फ अध्यक्ष रन्जिता श्रेष्ठ पक्षबाट उन्मुक्तिकै दुई जना मन्त्री छन्।

मुख्यमन्त्री साेडारी नेतृत्वकाे सरकारमा सहभागी हुनुअघि न्यूनतम साझा कार्यक्रम तय हुनुपर्ने उनले बताए। एमालेका नवनिर्वाचित सांसदबाहेक १०, माओवादीका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४ र एकजना स्वतन्त्र सांसदकाे समर्थनमा साेडारी वैशाख ६ गते मुख्यमन्त्री बनेका थिए।

Loading...