पल्सर स्पोर्ट्स अवार्डः पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

काठमाडौँ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष प्रदान गर्दै आएको एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७९ अन्तर्गत पिपल्स च्वाइस अवार्डको मनोनयन आज सार्वजनिक भएको छ ।

मञ्चले यहाँ एक कार्यक्रम आयोजना गर्दै पिपल्स च्वाइसका पाँच जना खेलाडी मनोनयन सार्वजनिक गरेको हो । आगामी माघ २८ गते हुने २०औँ संस्करणको मनोनयनमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ परेका छन् ।

अवार्ड कार्यक्रम यसअघि माघ १२ गते तय भए पनि प्राविधिक कारणले कार्यक्रम केही दिन पछाडि सारिएको मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले जानकारी दिनुभयो । खेल क्षेत्रमा पाएका सफलता र लोकप्रियताका आधारमा यस विधामा खेलाडीलाई मनोनयन गरिएको हो ।

फुटबलका अनन्तले घरेलु फुटबलमा आफ्नो नेतृत्वमा लगातार सफलता दिलाएका छन् । यस क्रममा उनले आफ्नो कप्तानीमा चर्च ब्वाइज युनाइटेडलाई ‘ए डिभिजन’ लिगको पहिलो वर्षमै विजेता बनाउनुका साथै यसै सिजनको नेपाल सुपर लिगमा ललितपुर सिटी एफसीलाई उपाधि पनि दिलाएका थिए ।

त्यस्तै विप्लवलालले इन्डोनेसियाको जाकार्तामा सम्पन्न विश्व सितोरियो कराते च्याम्पियनसिपमा रजत पदकका साथै चीनको हाङझावो सम्पन्न १९औँ एसियाली खेलकुदमा दुई बाउट जित्न सफल भएका थिए ।

NAVJEEVAN

काभा महिला भलिबल च्यालेन्ज कपमा कास्य विजेता निरुता केशवलाल स्मृति महिला भलिबल प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी हुन् । शारीरिक सुगठनकी रजनी श्रेष्ठ भने नेपालमै सम्पन्न एसियन बडी बिल्डिङ च्याम्पियनसिपमा ५५ केजीमाथि तौलसमूहकी स्वर्ण पदक विजेता हुन् । शारीरिक सुगठन खेल पुरुष खेलाडीका लागि मात्र हो भन्ने मान्यतालाई चिर्दै रजनीले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन सफल भएकी छन् । टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ डबल्समा राष्ट्रिय च्याम्पियन र स्ट्याग ग्लोबल च्याम्पियन्स लिगकी विजेता हुन् ।

यस विधाको विजेता इसेवा भोटिङ, मञ्चका सदस्यको मत, सामाजिक सञ्जाल (एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजबाट गर्नुपर्ने) बाट मत र २७ खेलका प्रमुख प्रशिक्षकको मतका आधारमा हुनेछ ।

इसेवाको मतभार ५० प्रतिशत, सामाजिक सञ्जालको मतभार २५ प्रतिशत, नेपाल ओलम्पिक कमिटिमा आवद्ध २७ राष्ट्रिय खेल सङ्घका मुख्य प्रशिक्षकको मतभार १२ दशमलव ५ प्रतिशत र मञ्चका सदस्यको मतभार १२ दशमलव ५ प्रतिशत हुनेछ । भोटिङ कार्यक्रमको अघिल्लो दिन बन्द हुनेछ । भोटिङ पार्टनरका रूपमा विद्युतीय भुक्तानीका लागि सेवाप्रदायक कम्पनी इ–सेवासँग आज नै एक कार्यक्रमबीच सम्झौता भएको छ । इसेवाका तर्पबाट चिफ बिजनेस अफिसर आशीष गौतम र मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सो अवसरमा गौतमले मनोनयनमा परेका पाँचै जनालाई इसेवा केयर प्याकेज प्रदान गरिने बताउनुभयो । त्यसमा रु एक लाख बराबरको स्वास्थ्य प्याकेज रहेको छ । मञ्चले इसेवासँग लगातार चौथो वर्षको सहकार्य हो । मञ्चका अध्यक्ष सुवेदीले इसेवालगायत अन्य प्रायोजकलाई धन्यवाद दिँदै अवार्डका अन्य चार विधामा पनि केही दिनमा नै सार्वजनिक गरिने बताउनुभयो ।

पल्सर स्पोर्ट्स अवार्ड २०७९ को अन्य विधामा वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट युवा खेलाडी र पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड छन् ।

यसपटक वर्ष पुरुष, वर्ष महिला, वर्ष प्रशिक्षक, वर्ष युवा र पिपल्स च्वाइस अवार्ड विजेताले पाँच वटा बजाज पल्सर मोटरसाइकल पाउनेछन् । तीमध्ये दुई वटा एन दुई सय ५० र तीन वटा एन एक सय ६० मोटरसाइकल छन् अन्य विधाका विजेतालाई जनही रु ५० हजार र उपहार प्रदान गरिनेछ ।

Loading...