गठबन्धन सरकार परिबर्तन हुनसक्छ: नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी गठबन्धन सरकारमा सामेल भए पनि मनमा चैन नभएको बताएका छन्।

चितवनमा पार्टीको १० औं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले गठबन्धन कुन दिनमा के हुने हो भन्ने स्थिति नरहेको बताए।

‘अहिले हामी यो गठबन्धनमा छौं। अल्लि चैन भइराख्या छैन। मनको चैन भइराख्या छैन। व्यवहारमै होला समस्या। अब कुन दिनमा के भइहाल्ने हो भन्ने स्थिति छैन,’ उनले भने, ‘धेरै भनौं पत्रिकामा छापिइहाल्छ फेरि।’

अध्यक्ष नेपालले विगतमा गरेका गल्तीबाट सुध्रिए वामपन्थी एकताको विषयमा कुनै आपत्ति नरहेको प्रष्ट्याए। उनले एकीकृत समाजवादी पार्टीले कुनै आग्रह पालेर नबसेको बताए।

‘विगतमा वामपन्थी एक हुँदा पार्टी विधान र देशको संविधानलाई कुल्चिने काम भयो, ठग्ने, लुट्ने, चुस्ने, भ्रष्टाचार गर्ने प्रवृत्ति हाबी भयो। त्यो अवस्थामा हामीले विद्रोह नगरेको भए संविधान मिच्ने प्रवृत्ति हाबी हुन्थ्यो, आफूलाई मन नपरेका मान्छे सबैलाई पाखा लगाइदिने हाबी हुन्थे,’ नेपालले भने, ‘तर अब सुध्रिए भने कुनै आपत्ति छैन, सुध्रियोस् भन्ने हाम्रो चाहना छ। हामी आग्रह पालेर बसेको छैनौं।’

उनले समाजवादी मोर्चामा आउन चाहनेलाई स्वागत गर्ने बताए।

कम्युनिष्ट पार्टी मिल्दा संसदमा झण्डै दुई तिहाइ सांसद भए पनि पनि कुनै गतिलो काम गर्न नसकेको उनले बताए।

पार्टीमा व्यक्ति हाबी भएर भ्रष्टाचार र बेथिति बढेपछि विद्रोहस्वरूप नेकपा एकीकृत समाजवादी जन्मिएको उनले बताए।

पाण्डेले अबको स्थानीय चुनाव पार्टी एक्लैले लड्ने पनि बताए।

‘जति भोट आओस्, १० भोटमात्रै आए पनि आओस्। तर कोहीसँग गठबन्धन नगरी एक्लै लड्नुपर्छ,’ उनले भने,‘अहिलेको उपनिर्वाचनले हामीलाई पनि शिक्षा दिएको छ। राम्रो तयारी गरेर अघि बढ भनेको छ। तयारी गरेर अघि बढ्छौं।’

Loading...