नेपाल र चीनबीच दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ

नेपाल र चीनबीच दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा बिहीबार र आयोजित एक समारोहबिच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा सम्झौतामा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल तथा चीनका तर्फबाट चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेशनल डेभलेपमेन्ट को–अपरेशन एजेन्सी) का प्रमुख लियु झाओ हुईले हस्ताक्षर गरे ।

उक्त संस्थाले चीनको वैदेशिक सहायताको रणनीति मापदण्ड बनाउने, सोसम्बन्धी नीति र योजना बनाउने तथा वैदेशिक सहायतासम्बन्धी सुधारका एजेण्डामा काम गर्दै आएको छ ।

अर्थ मन्त्रालयसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संसाधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत असोजमा भएको चीन भ्रमणका क्रममा चीनले नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।

सम्झौताअनुसार चीनले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोन म्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्नेछ । त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्मका लागि चीनले आर्थिक सहायता उपलब्ध गराउने सहमतिमा छ ।

कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनले नेपालको विकासमा निरन्तर सहयोग गर्दै आएकामा चीनलाई धन्यवाद दिए । नेपाल र चीनबीच गहिरो, विविधतापूर्ण र निरन्तर दिगो सम्बन्ध रहेको चर्चा गर्दै मन्त्री पुनले एकअर्काका आकांक्षा एवं संवेदनशीलतालाई सम्मान गर्दै इमान्दारिताका साथ आपसी सहयोग र मित्रता अगाडि बढाउँदै आएको उल्लेख गरे ।

राष्ट्रपति सी को नेपाल भ्रमण र प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा भएका सहमतिका प्रत्येक विषय एक-एक गर्दै पालना गर्दै जाने प्रतिबद्धता उनले जनाए ।

उनले आफूहरू तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको सिलसिलामा नेपाल आएको प्रशंग उल्लेख गर्दै नेपालमा चिनियाँ लगानी आउने बताए ।

Loading...