बैशाख १६ देखि हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइने

सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ।

हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि सबैलाई खुवाउने गरी आम औषधि सेवन अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले जानकारी दिए।

अभियान दुई हप्तासम्म सञ्चालन हुनेछ। अभियानमा यसपटक करिब ६ हजार स्वास्थ्यकर्मी र पाँच हजार आठ सय महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने छन्। निर्देशक डा. मरासिनीका अनुसार सात जिल्लाका एक सय एक स्थानीय तहका ५० लाख ७८ हजार जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन थालिएको हो।

दुई वर्षभन्दा बढी उमेरका सबैलाई औषधि खुवाइने उनले बताए।गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्ति, पहिले आम औषधि सेवन गर्दा गम्भीर समस्या देखिएका व्यक्ति तथा सिकिस्त बिरामीले सो औषधि खान नहुने निर्देशक डा. मरासिनीले बताए। हात्तीपाइलेविरुद्धको आम औषधि सेवन कार्यक्रम सफल भएको उनको भनाइ छ।

यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने र मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्ष पछि मात्रै रोगका लक्षण शरीरमा देखिने निर्देशक डा. मरासिनीले बताए।

महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत तथा अभियानका फोकल पर्सन रामकुमार महतोले ५३ जिल्लामा समुदायस्तरमा हात्तीपाइले रोगको सङ्क्रमण रोकिएको बताए।

Loading...